अंकरा(टर्की), १८ साउन (बीबीसी)। गत बिहिबार(१ अगष्टमा) रुस र पश्चिमा देशहरुबीच २६ कैदीबन्दी आदानप्रदान भयो । यसमा रुसले पक्राउ गरी थुनामा राखेका कैदीबन्दीलाई रिहाई गर्यो भने पश्चिमा देशहरुले पनि आफ्नो देशमा बन्दी भएका रुसी नागरिकलाई रिहाई गरे । यो घट्नालाई शीतयुद्ध यताकै महत्वपूर्ण मानिएको छ ।
टर्कीले भनेको छ एकातर्फ रुस र बेलारुस अनि अर्कोतर्फ संयुक्त राज्य अमेरिका, जर्मनी र तीन अन्य युरोपेली देशहरूबीच भएको सहमति अनुसार २६ कैदी बन्दीहरूको साटफेर गरिएको छ।
टर्कीको गुप्तचर निकायले उक्त कदमका लागि मध्यस्थता गरेको थियो। त्यस अन्तर्गत सात वटा विमानहरू टर्कीको राजधानी अङ्कारा पुगेका थिए।
टर्कीले वाल स्ट्रिट जर्नलका पत्रकार एभन गोर्स्कभीच र पूर्व अमेरिकी मरिन पल विलन त्यसरी सट्टापट्टा गरिएका कैदी बन्दीमा रहेको जनाएको छ।
उसले रुसमा जेलमा रहेकी एक जना रुसी मुलकी अमेरिकी पत्रकार इलिया यासिन र बेलारुसमा जेलमा रहेका एक जना जर्मन रिको क्रिग्रर पनि उक्त आदानप्रदान सहमति अन्तर्गत रहेको जनाएको छ।
क्रेम्लिनका कट्टर आलोचक भ्लादिमिर कारा मुर्जा पनि उक्त सम्झौताको हिस्सा भएको ठानिएको छ।
टर्कीले जर्मनीमा थुनामा रहेका एक जना रुसी गुप्तचर एजेन्ट भादिम क्रासिकोभ रिहा भएका १० रुसीमध्ये रहेको जनाएको छ।
बर्लिन पार्कमा एक जना पूर्व चेचेन कमान्डरको हत्यामा उनले आजीवन कारावासको सजाय काटिरहेका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडनले रिहाइ सुनिश्चित गर्ने उक्त सम्झौता कूटनीतिको जित भएको बताउनुभयो।
उहाँले देशबाहिर गैरकानुनी थुनामा रहेका वा बन्धक बनाइएका अमेरिकीलाई घर फर्काउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।
उहाँले जटिल वार्ताहरूमा अमेरिकाको पक्षमा उभिएका जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र टर्कीसहितका देशप्रति आभार व्यक्त गर्नुभयो।
कसरी सम्भव भयो ?
अहिलेको कैदी बन्दी सट्टापट्टालाई रुस र पश्चिमा विश्वबीचको ठूलो मध्येको एक घट्ना भनिएको छ।
बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेरा भन्नुहुन्छ, “युक्रेन युद्धका कारण रुस र पश्चिमा जगतबीचको सम्बन्ध अति कटुतापूर्ण देखिएका बेला यस्तो खालको बन्दी साटफेर हुनु बाहिरबाट हेर्दा आश्चर्यजनक देखिन्छ।”
तर वास्तवमा यस्ता घटना पहिला पनि भएका छन्। शीतयुद्ध उत्कर्षमा रहँदा वासिङ्टन र मस्कोले गुप्तचरहरू आदानप्रदान गर्थे। चर्चित चलचित्र ब्रिजेज अफ स्पाइजका दृश्य जस्तै लाग्ने कतिपय त्यस्ता सट्टापट्टा बर्लिनमा पनि भएका थिए।
पछिल्ला दुई वर्षमा युक्रेन र रुस युद्धमा भएपनि उनीहरूले ठूलो स्तरमा कैदी बन्दीहरूको आदानप्रदान गरेका छन्। एउटा विन्दुमा हमास र इजरायल पनि कैदी बन्दी साटासाट गर्न सफल भएका थिए।
बीबीसी सुरक्षा संवाददाता कोरेरा भन्नुहुन्छ, “यसको कारण सामान्य छ। दुवै पक्षसँग अर्को पक्षलाई चाहिने केही चिज वा कोही छ त्यही भएर उनीहरूले लेनदेन गर्नुपर्ने हुन्छ।”
तर सम्बन्ध तनावपूर्ण रहेको समयमा यस्तो किसिमको लेनदेनका लागि हुने वार्ता निकै कठिन हुने उहाँको विश्लेषण छ। किनभने कुनै अर्को पक्षले जितेको जस्तो देखिने गरी सम्झौता गर्न कोही चाहँदैनन्।
तर गुप्तचर निकायहरू पर्दा पछाडिका माध्यमहरू प्रयोग गरेर यस्ता खालका संवेदनशील वार्ताहरू गर्न अभ्यस्त हुन्छन्। सर्वसाधारणको नजरमा पर्न नदिईकन उनीहरूले यस्तो काम गर्छन्।
यो मध्यस्थतामा टर्कीको संलग्नता संयोग मात्रै होइन।
टर्कीको गुप्तचर निकाय एमआईटीका प्रमुख इब्राहिम कालीनले अघिल्लो हप्ता अङ्कारामा आफ्ना रुसी समकक्षीलाई भेट्नुभएको थियो।
टर्की नेटोको पनि सदस्य हो र उसले मस्कोसँग राम्रो सम्बन्ध कायम राखेको छ। टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच राम्रो सम्बन्ध छ।
१६ महिनापछि गोर्स्कभीच रिहा
द वाल स्ट्रीट जर्नलका पत्रकार गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुनुहुन्थ्यो र पक्राउ परेको समयमा उहाँ यक्याटरिङबर्गमा कार्यरत हुनुहुन्थ्यो।
अघिल्लो वर्ष पक्राउ परेका उहाँलाई रुसले जासुसीको आरोप लगाइएको थियो। उहाँ बन्दी साटफेर अन्तर्गत रिहा भएको वाल स्ट्रीट जर्नलले पुष्टि गरेको छ।
उहाँ र अन्य अमेरिकीहरू रुसी विमानबाट ओर्लिएको सो समाचारपत्रले जनाएको छ।
गोर्स्कभीचले द वाल स्ट्रीट जर्नलका लागि पक्राउ पर्नुभन्दा अगाडि एक वर्षभन्दा बढी समयदेखि काम गरिरहनुभएको थियो।
विगतमा उहाँले त्यहाँ नै एएफपी समाचार संस्था र द मस्को टाइम्समा काम गरेका गर्नुहुन्थ्यो।
द वाल स्ट्रीट जर्नलले उहाँको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँ विरुद्धका आरोपलाई कडा शब्दमा अस्वीकार गर्दै आएको थियो।
१६ महिनापछि रिहा भएका उहाँलाई रुसको अदालतले जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको थियो।
साटफेरको पृष्ठभूमि
स्टीभ रोजनबर्ग
रुस सम्पादक
“यो चुपचाप सल्टाउँदा ठिक हुने मामिला हो।”
सम्भाव्य पूर्व–पश्चिम कैदी बन्दी साटफेरबारे प्रतिक्रिया दिन अनुरोध गरिँदा रुसी अधिकारीहरूले यही वाक्यांशको प्रयोग गरेका थिए। हामीले महिनौँदेखि यिनै शब्दहरू सुन्दै आइरहेका थियौँ।
क्रेम्लिन यसरी नै काम गर्न रुचाउँछ। यसरी नै अहिले सञ्चारमाध्यमहरूबाट टाढा रहँदै पर्दापछाडि बसेर ूबन्धक कूटनीतिू गरियो। यसमा गुप्तचर निकायले गुप्तचर निकायसँगै कुरा गरे, सरकारले सरकारसँग कुरा गर्यो।
मस्कोले आफूले चाहेको कुरा वा व्यक्ति फिर्ता नपाउँदासम्म यो चलिराख्यो।
यद्यपि मौनताकै बीच पनि केही पाकिरहेको छ भन्ने सङ्केतहरू देखिएका थिए।
रुसी राष्ट्रपतिको त्यो अन्तर्वार्ता
गत फेब्रुअरीमा फक्स न्यूजका भूतपूर्व समाचार प्रस्तोता टकर कार्ल्सनसँगको अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इभन गोर्स्कभीचका विषयमा बोल्नुभयो। उहाँ जासुसीको आरोपमा रुसमा गिरफ्तार गरिनुभएका ुवाल स्ट्रीट जर्नलुका पत्रकार हुनुहुन्छ।
ूम गोर्स्कभीचको घर फर्कन सक्ने सम्भावनालाई नकार्दिनँ,ू पुटिनले भन्नुभएको थियो, ूहामी हाम्रो गुप्तचर निकायले हासिल गर्न खोजेको उद्देश्यलाई कसरी सघाउन सकिन्छ भन्नेबारे अमेरिकी गुप्तचर निकायले विचार गरोस् भन्ने चाहन्छौँ।ू
पुटिनको उक्त भनाइले मस्को सम्झौताका निम्ति खुला छ भन्नेबारे सार्वजनिक रूपमै स्पष्ट सङ्केत गरेको थियो।
क्रेम्लिनका नेताले कसैको नाम लिनुभएने। तर उहाँले रुसले कसलाई फिर्ता चाहेको हो भन्ने स्पष्ट सङ्केत गर्नुभएको थियो । उहाँ हुनुहुन्थ्यो– भदीम क्रासिकफ। उहाँ अमेरिकामा नभई जर्मनीमा हत्याको मामिलामा आजीवन कारावासको सजाय भोगिरहेका शङ्कास्पद रुसी जासुस हुनुहुन्थ्यो।
त्यसको केही दिनपछि रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको दुर्गम आर्क्टिक ुपेनल कोलोनीुमा सजाय भोगिरहेको अवस्थामा मृत्यु भयो। यो घटनाअघि जर्मनीमा रहेका क्रासिकफको सट्टामा रुसी जेलमा रहेका नाभाल्नी, गोर्स्कभीच, पूर्वअमेरिकी नौसैनिक पल वेलनलाई साटफेर गर्न छलफल चलिरहेको गाइँगुइँ सुनिएको थियो।
कैदी बन्दी साटफेरबारे जर्मन अधिकारीहरूले पनि कुराकानी सुरु गरेका थिए ।
मुद्दा प्रक्रिया
अब जुन महिनामा फर्कौँ।
अन्ततः यकाटेरिनवर्गमा सुरु भएको गोर्स्कभीचमाथिको गोप्य सुनुवाइलाई अमेरिकी सरकार र वाल स्ट्रीट जर्नलले देखावटी भन्दै खारेज गरे। त्यसपछि उक्त मुद्दालाई तत्काल मध्यअगस्टसम्मका लागि स्थगित गरियो।
तर गत महिना अदालतले अनपेक्षित रूपमा मुद्दालाई तीन साताभन्दा बढीले अघि सार्दै दोस्रो सुनुवाइ थाल्यो। तीव्र रूपमा तीनदिने सुनुवाइ टुङ्ग्याउँदै गोर्स्कभीचलाई दोषी ठहर्याइयो र सोह्र वर्षका लागि पेनल कोलोनीको सजाय सुनाइयो।
त्यसै दिन अमेरिकी–रुसी पत्रकार अल्सु कर्माशेभालाई कजानको एउटा अदालतले साढे छ वर्षको जेल सजाय सुनायो। उक्त मामिलामा केवल दुई दिन सुनुवाइ भएको थियो।
यसले कसैलाई असाध्यै हतार भइरहेको छ भन्ने स्पष्ट सङ्केत गर्थ्यो। साथै यसले सम्झौता भइसकेको छ र कैदीबन्दी साटफेरको सम्भावना छ भन्ने पनि बलियो सङ्केत गर्थ्यो। रुसी अधिकारीहरू सामान्यतः यस्तो साटफेरमा सजायलाई पूर्वसर्त मान्दछन्।
यो साताको आरम्भमा रुसका कैयौँ उच्च तहका राजनीतिक बन्दीहरूलाई ुपेनल कोलोनीु तथा बन्दी केन्द्रहरूबाट स्थानान्तरण गरिएको विवरणसँगै अन्य सङ्केतहरू पनि आए।
त्यसपछि अड्कलबाजी बढ्न थाल्यो। यी विरोधी नेताहरू पनि यो बृहत्तर कैदीबन्दी साटफेरको हिस्सा बन्न सक्छन् ? के यो आदानप्रदान हामीले सोचेभन्दा ठूलो स्तरको छ?
यही बेला बेलारुसबाट खबर आयोः देशका नेता अलेक्जेन्डर लुकाशेन्को आतङ्कवाद तथा अन्य मुद्दाका निम्ति मृत्युदण्डको सजाय सुनाइएका रिको क्राइगर नामका जर्मन नागरिकलाई माफी दिन सहमत भए। के यो पनि साटफेरकै हिस्सा हुन सक्छ?
बल्ल हामीले थाहा पायौँ। यो शीतयुद्धयताकै पूर्व–पश्चिमबीचको सबैभन्दा ठूलो कैदीबन्दीको साटफेर हो।
पश्चिमा सरकारहरूले विदेशी तथा केही रुसी उच्चस्तरीय राजनीतिक बन्दीको रिहाइको स्वागत गर्ने छन्।
मस्कोले आफ्ना गुप्तचरहरूको रिहाइको उत्सव मनाउने छ।
दुवै पक्षले उत्तम सम्झौता गरिएको दाबी गर्ने छन्।
तर यदि रुसले पहिले पहिले गर्दै आएझैँ बन्धक कूटनीति प्रभावकारी हुने निष्कर्ष निकालेको खण्डमा चाहिँ विदेशी र रुसी दुवैथरिका कैदीबन्दीहरू सौदाबाजीको हतियार बनेको यो नै अन्तिम घटना नहुने सम्भावना छ।