Prakash Adhikari August 7, 2024

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षाका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको र यस्ता सवालमा राष्ट्रसङ्घको सदवै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाउनुभयो । राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि राष्ट्रसङ्घीय नीति बमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।

युरोपियन युनियनका राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वाेच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसमा विकास साझेदारको सहयोग अपेक्षित भएको बताउनुभयो । लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिका प्रति नेपाल पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने उहाँले गर्नुभयो ।

राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्य सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभयो ।

 

Share Now