घोडाघोडी (कैलाली), २६ साउन : थारू समुदायको गुरही पर्व कैलालीमा विविध कार्यक्रम गरी मनाइएको छ ।
गुरही नागपञ्चमीका दिन मनाउने गरिन्छ । पर्वका अवसरमा कैलालीका विभिन्न स्थानमा कार्यक्रमहरू गरिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायत पालिकाहरुमा नाचगान गर्दै पर्व मनाइएको छ । पर्वका अवसरमा घोडाघोडी नगरपालिका–१ सुखड चोकमा कार्यक्रम गरिएको छ । यस्ता संस्कृति र चाड पर्वहरू जोगाउनका लागि सबै जना लाग्नुपर्ने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताउनुभयो । “चाडपर्वका छुट्टै महत्त्व हुन्छन्”, उहाँले भन्नुभयो, “यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो ।”
कार्यक्रममा थारू पहिरनमा सजिएर नृत्यहरु प्रस्तुत गरिएका थिए । गुुरही थारू समुदायको पहिलो चाडका रुपमा मनाउने गरिन्छ । यो पर्वको धार्मिक महत्वसमेत रहिआएको छ । गुरही पर्व चोक चौराहामा मनाइने गरेको घोडाघोडी नगरस्तरीय भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार साँझको समयमा बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइदिदीबहिनीहरू नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रङ्गीबिरङ्गी गुडिया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने कार्यको तयारी गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।
गाउँका बडघर एकै सासमा (एकसंस्सु) दुुबो घाँसमा गाँठो पार्छन् । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरू त्यसलाई आफूसँग ल्याएको रङ्गीचङ्गी कोर्राबाट ठटाउँछन् र ‘देउ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र भूतप्रेतको दुःखबाट छुट्कारा पाइन्छ भन्ने विश्वास रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारू दिदीबहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकारूपमा बाँड्ने गरिन्छ । दिदीबहिनीहरूले चना, मकै, केराउलगायत परिकारका भुजा प्रसादका रूपमा बाँड्ने गर्छन् ।
भलमन्सा चौधरीका अनुसार चोकमा ठटाएको भुजा र कपडाको टुक्राको सङ्कलन गरेर घरतिर लग्ने गरिन्छ । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कंदा र दुबोलाई घरमा राख्दा दुःखकष्ट र सर्पहरू घरबाट निस्केर जाने विश्वास छ ।
काठमाडौँमा गुरही पर्व
काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही÷गुरिया पर्व मनाएका छन् ।
अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “विगत केही वर्षयता थारू महिलाहरु सङ्गठित हुँदै गएकामा खुसी लागेको छ । महिलाहरुले यसलाई पर्व सँगसँगै अधिकार प्राप्तिको आन्दोलनका रुपमा पनि लिनुपर्छ ।”
थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दु थारूले गुरहीलगायत धेरै महत्वपूर्ण चाडबाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्वनापूर्ण अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारूलगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रुपमा काठमाडौँमा मनाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । त्यस अवसरमा विभिन्न थारू कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए ।
प्रज्ञा प्रतिष्ठानमा कपडाका गुरही (गुडिया) बालिकाले चौरमा सेलाएका थिए भने बालकहरुले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए । कार्यक्रमका अवसरमा काभा भलिबल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएकी सरस्वती चौधरी, भूटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनशिपमा स्वर्ण पदक विजेता मनिषा चौधरीलगायत महिला खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो ।
थारू बाहुल्यता रहेका तराईका जिल्लाहरुमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन छ । खेतीपातीमा कुनै किसिमको हानि–नोक्सानी नहोस्, गाउँमा रोगविरोग नफैलियोस् भनेर किसानहरु हरेक वर्षको साउनको अन्तिम वा भदौको सुरुआतमा गुरही÷गुरिया पर्व मनाउने चलन छ ।