काठमाडौँ, २७ साउन । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिवसीय औपचारिक भ्रमणमा आज नेपाल आउँदै हुनुहुन्छ ।
दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री भोलि साउन २८ गते काठमाडौँबाट स्वदेश प्रस्थान गर्नुहुने कार्यक्रम छ ।
उहाँको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ ।
नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, संस्कृतिक र जनस्तरको सम्बन्ध रहदै आएको छ ।


















