काठमाडौं, २७ साउन। माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।
इक्यानमा आबद्ध व्यवसायी र इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)बाट अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेशन लोन उपलब्ध गराउने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा इ–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि।को तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पश्चात क्यान,झापामा आवद्ध परामर्शदाताहरु सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १ सय ६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २ सय स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।


















