Prakash Adhikari August 13, 2024

काठमाडौं, २९ साउन । आईसीसी लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । बंगलोरको प्रशिक्षणमा संलग्न हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका  खेलाडीसहित प्रशिक्षकसहितको टोली भारत प्रस्थान गरेको हो ।टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता प्रशिक्षण गर्ने कार्यतालिका रहेको छ।

टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल,पूर्वकप्तान सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्रसिंह ऐरी भने सम्मिलित छैनन् । तीनै जना ग्लोबल टी २० क्यानडामा खेल्न उतै रहेका छन् ।नेपाली टिमका कप्तान रोहित र दीपेन्द्र सीपिएल खेल्न वेष्टइण्डिज जाने र सन्दीप उतै बस्ने भएकोले भारतको प्रशिक्षणमा तीनै जना अनुपस्थित हुने छन् ।

बन्द प्रशिक्षणका लागि छनोटमा परेका देव खनाल र गुल्शन झा पनि भारतमा नै भएकोले उतैबाट बंगलोरको प्रशिक्षणमा संलग्न हुने बताइएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टि देसाई पनि भारतमा नै टोलीमा सामेल हुने बताइएको छ ।

नेपाली राष्ट्रिय टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता प्रशिक्षण लिने छ । बोर्ड अफ क्रिकेट कन्ट्रोल इन्डिया(बीसीसीआई) सँगको सहकार्यमा नेपाली टोलीले पहिलो पटक त्यहाँको सुविधासपन्न एकेडेमीमा अभ्यास गर्न लागेको हो ।

यसअघि नेपालले एसीसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो । त्यति बेला गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप टी २० प्रतियोगिता पनि खेलेको थियो ।

नेपालले प्रारम्भिक चरणमा प्रशिक्षणको लागि चयन गरेका खेलाडीहरुमा कप्तान रोहित कुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा .रहेका छन् ।

नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो। पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । त्यसमा नेदरल्याण्ड्सलाई जितेर २ अंक हासिल गरेको छ ।

 

Share Now