रथ कमर्फर्ड / बीबीसी न्यूज
ढाका(बंगलादेश), २९ साउन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको अधिकारीहरूले बताएका छन्।
हसिनासँगै उहाँको सरकारका यातायातमन्त्री ओबाइदुल क्वान्दरसहित अन्य छ उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान हुने बताइएको छ।
गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा एक जना मारिएको घटनालाई जोडेर उनीहरूविरुद्ध उजुरी परेको छ।
एक व्यक्तिका तर्फबाट उजुरी दिएका अधिवक्ता मामुन मियाका अनुसार राजधानी ढाकाको एक अदालतले त्यहाँको प्रहरीलाई उजुरी परेका व्यक्तिहरूविरुद्ध ज्यान मुद्दा स्वीकार गर्न आदेश दिएको छ।
अदालतका म्याजिस्ट्रेट राजेश चौधरीले उक्त आदेश जारी गर्नुभएको हो र हसिनाका विरुद्ध आन्दोलन सुरु भएपछि उहाँका विरुद्ध जारी भएको यो पहिलो आदेश हो।
बाङ्ग्लादेशी कानुनअनुसार यस्तो आदेशलाई फौजदारी अनुसन्धानको पहिलो चरण मानिन्छ।
किन उजुरी पर्यो ?
यसै महिनाको सुरुमा शेख हसिना बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिई भारत पलायन हुनुभएको थियो।
त्यसअघि तीन साताभन्दा बढी समयसम्म त्यहाँ उहाँका विरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्वमा हिंसात्मक आन्दोलन भएको थियो। उहाँकै आदेशमा प्रहरीले दर्जनौँ आन्दोलनकारीलाई गोली हानेर मारेको बताइएको छ।
आन्दोलनका क्रममा ४०० जनाभन्दा बढीको ज्यान गएको थियो।
समाचारहरूका अनुसार हसिनाले आन्दोलनरत विद्यार्थीहरू विद्यार्थी नभई देशमा अस्थिरता ल्याउन निस्किएका आतङ्ककारी भएको बताउँदै आन्दोलन दबाउन निर्देश दिनुभएको थियो।
आन्दोलन भइरहेका बेला सडक पार गर्ने क्रममा स्थानीय किराना पसले अबु साईदलाई टाउकामा गोली लागेपछि व्यवसायी आमिर हाम्जाले गत जुलाई महिनामै हत्या आरोपमा हसिनामाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै आवेदन दिनुभएको थियो।
बीबीसी बाङ्ग्लाका अनुसार गत १९ जुलाईमा प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि जथाभाबी गोली चलाउने क्रममा साईदलाई लागेको भनी हाम्जाले स्थानीय अदालतलाई बताउनुभएको छ।
उहाँका अनुसार उहाँको सईदसँग कुनै नाता पर्दैन तर उहाँको परिवारसँग मुद्दा हाल्न पैसा नभएकाले सहयोग गरेको उहाँको भनाई छ ।
ूशेख हसिनाको अपराधविरुद्ध कानुनी कदम चाल्न हिम्मत गर्ने पहिलो सर्वसाधारण नागरिक हुँ म। म यसलाई टुङ्गोमा पुर्याउँछु,ू उहाँले समाचारसंस्था रोएटर्सलाई बताउनुभएको छ।
निरन्तर १५ वर्षसम्म सत्तामा रहनुभएकी हसिनामाथि व्यापक मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोप लाग्ने गरेको छ।
चुनावमा हसिना स्वदेश फर्किने ?
शेख हसिना बाङ्ग्लादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ ।
गत जनुवरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो।
सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उहँले अन्ततः पदत्याग गर्नुपर्यो।
यो उहाँको पाँचौँ कार्यकाल थियो। यद्यपि उहाँको सरकार एक वर्ष पनि टिकेन।
उहाँ राजीनामा दिएर विदेश पलायन हुन बाध्य हुनुभयो।
उहाँको बहिर्गमनसँगै बाङ्ग्लादेशकी विपक्षी नेतृ बेगम खालेदा जिया रिहा हुनुभयो ।
हसिना पलायन भएसँगै बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनेको छ। सरकारमा केही आन्दोलनकारी नेताहरू पनि सामेल छन्।
निर्वाचन घोषणा भएपछि हसिना पनि स्वदेश फर्कने उनका छोरा सजीव वाजेदले बताउनुभएको छ।