पटिहानी (चितवन), ३१ साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ चार दिवसीय ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सो सम्मेलन आयोजना गरिएको थियो । उपानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्नुहुँदै अध्यक्ष सिंहले आ.व. २०८०÷८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलता प्रमुख कारण भएको बताउदै सबैको कामको सराहना गर्नु भएको थियो ।
साथै उहाँले आ.व.२०८० । ८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरु लगायत सबैभन्दाबढि प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्नु भएको थियो ।
जीवन बीमा व्यवसायसंग सम्बन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आर्थिक बर्ष २०८१÷८२ को लागि लक्ष्य निर्धारण गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दाबढिको सहभागिता रहेको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसात गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दाबढि संकलन गर्न सफल भएको तथा अन्य सबै सूचांकहरुमा पनि सकारात्मक वृद्धि गर्न संभव भएको बताउनु भयो । उहाँल्े आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पूर्ण बीमित, अभिकर्ता र कर्मचारीहरुलाई बधाईसहित धन्यवाद पनि दिनुभयो ।
उहाँले आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकोले त्यसलाई पूरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक श्रीमती सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिनु हुदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकोले सोतर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताउनु भयो ।
सम्मेलनमा मोटिभेसनल ट्रेनर सुदीप बस्नेतले सहभागी कर्मचारीहरुलाई तालिम प्रदान गर्नु भएको थियो । सम्मेलनमा आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
राजधानी बाहिर पुगेका कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको कम्पनीले जनाएको छ । सम्मेलनको अवधिमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता लगायत सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।