काठमाडौं, ३२ साउन । लक्ष्मी सनराइज बैंकको अगुवाइमा चार बैंक र अपर बलेफी हाइड्रोपावरबीच सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजना निमार्ण लगानी सम्झौता भएको छ।
सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीषराज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिपकुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीतचन्द्र झा र अपर बलेफी हाइड्रोपावरका निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गर्नुभएको छ।
संझौता अनुसार आयोजना निर्माणमा लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सहअगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसबीआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहने छ।
अपर बलेफी हाइड्रोपावरले २०७८ साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादन अनुमति पत्र लिएको छ।
यसले २०८० मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता(पीपीए) गरिसकेको छ। कम्पनीको प्रवर्द्धक गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु हुनुहुन्छ।
आयोजनाको कूल लागत ९.४३ अर्ब रहेको छ। निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी २५ प्रतिशत लगानी कम्पनीका प्रवर्द्धक (संस्थापक)को रहने छ।
यो आयोजनाबाट वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जडान हुने बताइएको छ।
परियोजनाको प्रमुख योजनाकार गोल्यान समूह हो। हाल गोल्यान समूहले १४ वटा परियोजनाको योजना बनाएको छ। जसमा सन् २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसमा ८ जलविद्युत् परियोजना र ६ सौर्य ऊर्जा परियोजना छन्


















