काठमाडौँ, ३ भदौ । जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि ऋषि तर्पणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र सभामुख देवराज घिमिरेले शुभकामना सन्देश दिनुभएको छ ।
जनैपूर्णिमा अवसरमा हुने ऋषि तर्पणले राष्ट्र, नागरिक, पृथ्वी, वनस्पति, वातावरण र सम्पूर्ण चराचर जगतको रक्षा हुने र यो पर्वले आपसी सद्भाव,भाइचारा र राष्ट्रिय एकता मजबूत हुने उल्लेख गर्दै विशिष्ट व्यक्तित्वहरुले नेपाल र विश्वभर छरिएका नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति पौडेले यस दिवसले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिद्वारा शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
“यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो”, उपराष्ट्रपतिको सन्देशमा भनिएको छ ।
उहाँले तराई–मधेसमा मधेसीलगायतका समुदायले रक्षाबन्धनलाई राखी त्योहारका रुपमा मनाउने गरेको उल्लेख गर्नुभयो । साथै मधेसी संस्कृतिमा भाइ–बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरुमा राखी, भैयादूज (भ्रातृद्वितीया)लगायत रहेको उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
लोकपर्वकै रुपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडींमा रक्षासूत्र (रिखीडोरो)वा राखी बाँध्ने र त्यसो गर्नुको मूल उद्देश्य–भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु रहेको उहाँको भनाइ छ ।
“वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरु अर्थात् जनै लगाउनुपर्नेहरुले श्रावण पूर्णिमामा पुरानो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । यो पर्वमा गुरु/पुरोहितहरुले मन्त्र साधना गरी भयबाट रक्षा हुने धागो बाँधिदिने चलन छ । खासगरी, ब्राह्मणले धागोमा रक्षामन्त्रले साधना गरी सर्वसाधारणमा पुरुष भए दाहिने नाडीं र स्त्री भए देब्रे नाडींमा डोरो बाँधिदिने गर्दछन् । यो पर्व सप्तऋषि एवं पूर्वजहरुको पूजा तथा तर्पण दिनका लागि पनि महत्वपूर्ण मानिन्छ”, शुभकामना सन्देशमा भनिएको छ ।
नेपालका नेवार समुदायले यो पर्वलाई ‘गुँःपुन्हि’को रुपमा मनाउँछन् । यो समुदायमा गुँःपुन्हिमा नौ किसिमका गेडागुडीको क्वाँटी पकाएर, गहुँको पीठोको रोटी पोलेर देवदेवीलाई चढाई परिवारका सदस्यहरु मिलेर खाने चलन छ । यस अवसरमा जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबै प्राणी÷वस्तुलाई तिनको सदासयता सम्झी पूजा गर्ने चलन पनि छ । यस अवसरमा विभिन्न कुण्डहरुमा जात्रा/मेलाको परम्परा रही आएको छ ।
सद्भाव र भाइचारा अभिवृद्धिको पर्वः सभामुख
सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने बताउनुभएको छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु ।”
रक्षाबन्धन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको र यस पर्वलाई पारिवारिक मेलमिलाप बढाउने उत्सवको रुपमा लिइने उहाँले उल्लेख गर्नुभएको छ । रक्षाबन्धनमा हिन्दू ब्राम्हण तथा क्षेत्रीय पुरुषले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।
“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो”, शुभकामना सन्देशमा भनिएको छ ।
सामाजिक सद्भाव अभिवृद्धि
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उक्त पर्वका अवसरमा अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइतारा अभिवृद्धिमा मद्दत पुग्ने बताउनुभयो ।
“आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।








