Prakash Adhikari August 20, 2024

काठमाडौं, ४ भदौः गएरातिदेखि परेको बर्षाका कारण खसेको पहिरोले कालीगण्डकी करिडर, डुम्रे-बेसीसहर सडक र बेनी-दरबाड. सडक अबरुद्ध भएका छन् ।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

पहिरोले आज बिहान ७ः३० बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । यस खण्डमा अहिले लगातार वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र र पाल्पा, स्याङ्जातर्फ यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षाले जिल्लाको विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३ गिरुबारीका देवबहादुर फाल मगर र उहाँकी छोरी तुलसी फाल मगर तरकारी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएको थियो । बाबु र छोरीको सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरीले जनाएको छ ।

पछिल्लो तीन घण्टामा जिल्लास्थित डण्डा वर्षा मापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप हुनसक्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग केन्द्रले सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले ‘एसएमएस’ मार्फत दिउँसो १२ बजेसम्म नारायणी नदी, यसका सहायक नदीहरू र अन्य ससाना खोलामा प्रवाह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

दलालमा पहिरो जाँदा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– लमजुङमा लेदोसहितको पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् । पानी निरन्तर परिरहेको र सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उहाँको भनाइ छ । यसै ठाउँमा यसअघिसमेत पटकपटक पहिरो झरेर सडक अवरुद्ध भएको थियो । दलालमाथि केही वर्षअघि ढुङ्गा खानी रहेको र सो खानीमा जमेको पानी फुटेर गत असार यता पहिरो आउन थालेको हो ।

बेँसीसहरदेखि तनहुँ, काठमाडाँै, पोखरा, चितवनलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिमाली जिल्ला मनाङ जानसमेत यही सडक हुँदै जानुपर्छ ।

फापरखेतमा पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध 

अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

“बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो, “म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ । बेनी –४ र मङ्गला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहँुदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन् ।
–––

Share Now