काठमाडौं, ९ असोज । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरु अब विराटनगर, पोखरा र नेपालगञ्जका कार्यालयबाट पनि काट्न मिल्ने भएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले अहिले काठमाडौं बाहिर भैरहवास्थित निगमको कार्यालयबाटमात्र अन्तर्राष्ट्रिय उडानका टिकटहरुको बिक्री वितरण भइरहेकोमा आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता राष्ट्रिय चाडपर्वको समयमा र त्यसपश्चात् समेत निरन्तर रहने गरी यो व्यवस्था मिलाउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संबन्धित विभागीय प्रमुखलाई निर्देशन दिनुभएको जानकारी दिनुभएको छ ।
निगमसंग अहिले अन्तराष्ट्रिय उडानका लागि एअरबसका ए ३२० -२०० सेरिजका दुई न्यारो बडीका र ए ३३०-२४३ सेरिजका दुई वाइड बडीका जहाजहरु रहेका छन् ।
निगमका चारवटा विमानहरुले भारतको दिल्ली,मुम्बई,बंगलोर, थाईल्याण्डको बैंकक, मलेशियाको क्वाललम्पुर, चीनको स्वशासित क्षेत्र हंगकंग, जापानको टोकियो, कतारको दोहा, युइई दुबाई, साउदी अरेबियाको दम्माममा नियमित उडानमार्फत सेवा दिंदै आएका छन् ।
निगमका प्रवक्ता पौडेलले सेवाग्राहीहरुले आफ्नो मोबाइलबाट वा निगमको वेभसाईटमा गएर अनलाईन टिकट लिन सक्ने जानकारी दिनुभएको छ । निगमको नयाँ व्यवस्थाले सेवाग्राहीले अझ प्रभावकारी ढंगले सेवा पाउने विश्वास लिइएको उहाँले बताउनुभएको छ ।