Prakash Adhikari September 29, 2024

काठमाडौँ, १३ असोजः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले भन्नुभयो, “बाढीले थुप्रै कृषिउपजमा क्षति पु¥याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क चाँडो सङ्कल नगरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशमा पत्राचार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातै प्रदेशका कृषि हेर्ने मन्त्रालयलाई बाढीपहिरो तथा डुबानका कारण कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न आज पत्राचार गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले आज विज्ञप्ति जारी गरी असोज १० गतेदेखिको भारी वर्षाका कारण बाढीपहिरो र डुबानले सिँचाइ पूर्वाधार, बालीनाली, पशुपन्छी, खाद्यान्न, बीउबीजन, गोठ, खोरलगायत संरचनामा भएको क्षति विवरण माग गरिएको जानकारी दिनुभयो । मन्त्रालयले सबै स्थानीय तहका कृषि एवं पशु शाखालाई पनि विवरणका लागि पत्राचार गरेको छ ।

कृषि क्षेत्रमा भएको विवरण सङ्कलनपछि मन्त्रालयले आवश्यक काम गर्ने विज्ञप्तिमा उल्लेख छ । क्षतिमा परेका किसानलाई प्राविधिक सहयोग गर्न पनि प्रदेशका कृषि हेर्ने मन्त्रालय र स्थानीय तहका कृषि एवं पशु सेवा शाखालाई आग्रह गरिएको जनाइएको छ ।

आजै कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिनुभएको थियो ।

Share Now