Prakash Adhikari November 23, 2024

 

बेरुत(लेबनान), ८ मंसिर(बीबीसी) । इजरायलले गरेको एउटा भीषण आक्रमणमा लेबनानको राजधानी बेइरुतको मध्य भागमा अवस्थित एउटा आवासीय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार चार जना मानिसहरू मारिएका छन् भने २० भन्दा धेरै घाइते भएका छन्।

आठ तले उक्त भवन बढी जनघनत्व रहेको राजधानीको बास्ता जिल्लामा अवस्थित रहेको लेबननको राष्ट्रिय समाचार समितिले जनाएको छ।

स्थानीय समय अनुसार बिहान ४ बजे सो हमला भएको थियो जसका कारण सो सहर नै हल्लिएको थियो।

इजरायली सेनाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

पछिल्लो हमलाबारे के विवरण आएका छन्?

आपत्कालीन उद्धारकर्ताहरू बास्ता पुग्दा विशाल खाल्डोबाट धुवाँको मुस्लो उडिरहेको दृश्य देखेका थिए। उक्त स्थानबाट भग्नावशेष हटाउने कार्य अझै जारी रहेको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलले मध्य बेरुतमा यसै साताभित्र गरेको यो चौथो हमला हो।

सोमबार इरानको समर्थन पाएको हिज्बुल्लाहले आफ्ना प्रवक्ता मोहम्मद अफिफ एउटा हवाई हमलामा मारिएको जनाएको थियो।

हालैका महिनाहरूमा इजरायली आक्रमणहरूमा बेरुतमा कैयौँ वरिष्ठ हिज्बुल्लाह नेताहरूले ज्यान गुमाएका छन्। मारिनेमा उक्त समूहका नेता हसन नस्रल्लाह पनि पर्छन्।

इजरायली डिफेन्स फोर्सले गएको सेप्टेम्बरमा हिज्बुल्लाहमाथि ठूलो स्तरको आक्रमण गरेको थियो। त्यसक्रममा उसले हवाई हमलाहरू गरेको थियो भने दक्षिण लेबननमा फौजहरू पनि पठाएको थियो।

हिज्बुल्लाहले दक्षिण इजरायलमा गएको वर्षको अक्टोबर ७ मा हमला गर्ने प्यालेस्टिनी समूह हमासप्रति ऐक्यबद्धता जनाउँदै श्रृङ्खलाबद्ध रकेट हमला गरेपछि द्वन्द्व थप चर्किएको थियो।

हिज्बुल्लाह विरुद्धको लडाइँमा इजरायलले उक्त समूहको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका ६० हजार बासिन्दाको पुनर्स्थापनालाई आफ्नो घोषित नीति बनाएको छ।

लेबनानमा उक्त द्वन्द्वले ३५ सय भन्दा बढी मानिसहरूको ज्यान गएको छ र १० लाख भन्दा धेरै आफ्ना घरबाट विस्थापित भएका छन्।

यसै हप्ताको प्रारम्भमा युद्धविरामको उपाय खोजी गर्ने प्रयासमा एक जना अमेरिकी मध्यस्थकर्ताले इजरायल र लेबनान दुवै देशको भ्रमण गरेका थिए।

आमोस होक्स्टिनले केही प्रगति हासिल भएको बताएपनि सार्वजनिक रूपमा कुनै पनि कुराको व्याख्या गरेका छैनन्।

शनिवार सबेरैको उक्त हमलापछि पनि थप आक्रमणहरू पनि गरिएका थिए। इजरेलको डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिण बेइरुतको ‘हिज्बुल्लाह केन्द्र र स्वार्थ’ क्षेत्र नजिकै बसिरहेका मानिसहरूलाई उक्त स्थान खाली गर्न भनेको थियो।

एक घण्टापछि नै लडाकू विमानहरूले कैयौँ निशानाहरूमा आक्रमण गरेका थिए र आईडिएफले त्यसमा ‘हतियार भण्डारण गर्ने गोदाम’ पनि रहेका जनाएको छ।

Share Now