Prakash Adhikari November 18, 2026

काठमाडौं, २ मंसिर । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) उहाँले भेट गर्नुभएको हो।

भेट प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीमा केन्द्रित रहेको थियो ।

भेटका क्रममा भारतीय राजदूत दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री शाहले नेपालका लागि राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको राहत तथा सहयोगप्रति आभारसमेत प्रकट गर्नुभयो।

भेटवार्तामा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग चासो राख्नुभएको थियो। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताउनुभयो।

राजदूत दलेलाले भ्रमणका मुख्य एजेन्डा तय भइसकेको र यसलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिनुभएको थियो।

भेटका क्रममा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र प्रगाढ बनाउँदै लैजाने विषयमा पनि सकारात्मक छलफल भएको छ।

Share Now