Prakash Adhikari November 23, 2024
गण्डकी, ८ मङ्सिर : शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । सम्मेलनमा दई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा. शैल रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमुलक कार्यपत्रको प्रस्तुती रहनेछ । यस्तै २५ भन्दा बढी सर्जिकल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उहाँले बताउनुभयो ।
कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उहाँको भनाय छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्यचिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ । “देशविदेशका शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ”, महासचिव डा. रुपाखेतीले भन्नुभयो, “सम्मेलनका अवसरमा शल्यचिकित्सका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।”
सम्मेलनमा अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रर्वद्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताउनुभयो । “सम्मेलनमा हुने अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुतिले शल्यचिकित्सा क्षेत्रमा नयाँ प्रविधि र सीपको सुदृढीकरण गर्न मद्दत पुग्नेछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “स्वास्थ्य क्षेत्र सुधारका लागि सामूहिक प्रयास र साझेदारीको खाँचो छ ।”
अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुव्र्यवहारका घटना निन्दनीय रहेको भन्दै उहाँले त्यस प्रकृतिका कृयाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नुभयो । प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उहाँको भनाइ छ ।
उहाँले शल्यचिकित्सालगायत स्वास्थ्य क्षेत्रका समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा ‘साउन एसियन सर्जिकल केयर सोसाइटी’का अध्यक्ष डा. सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्व र आयामबारे विचार व्यक्त गरेका थिए । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भूटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्यचिकित्सक सहभागी छन् ।
Share Now