Prakash Adhikari January 14, 2025
घोडाघोडी (कैलाली), १ माघः जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व तयारी पूरा भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् ।
थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् ।
पुसको अन्तिम दिनदेखि माघी सुरु हुने गरेका घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुसको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर, बङ्गुर काटिने प्रचलन छ । यसलाई ‘जिता’ मार्ने भनिन्छ ।
पर्वसँगै थारू समुदायमा बरघर, भलमन्सा, चिराकी, चौकीदार फेरबदल गर्ने वा पुरानालाई राख्ने भन्नेबारे छलफल सुरु भइसकेको चौधरीले जानकारी दिनुभयो । “गाउँघरमा आगोको मुढाहरू ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतहरू पनि गाइने गरिन्छ । पुसको अन्तिम दिन रातभरि आगो तापेर आज बिहानै स्नान गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष चौधरीका अनुसार आज नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूलाबाट आर्शीवाद लिने र सानालाई आर्शीवाद दिने प्रचलन रहिआएको छ । माघेसङ्क्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको उहाँले बताउनुभयो ।
पर्वको अवसरमा कैलालीका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन् । घोडाघोडी नगरपालिकास्थित बुट्का बाबा मन्दिरमा माघी मेलाको आयोजना गरिएको छ । ‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिकस्थल बुटका बाबाको संरक्षण’ भन्ने मूल नाराका साथ माघेसङ्क्रान्ति तीर्थ मेला सुरु भएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत पुस २९ गतेदेखि सुरु भएको मेला यही माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारू संस्कृति झल्कने परम्परागत नृत्य, वेषभूषा तथा खानाको प्रदर्शन गरिनेछ । बुटका बाबा मेला भर्न कैलाली जिल्लासहित बर्दिया, दाङ, कञ्चनपुरबाट हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलियालगायत ठाउँबाट भारतीय नागरिक आउने उहाँले जानकारी दिनुभयो ।
बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपिठका रूपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासले बताउनुभयो ।
यसैगरी आजै जिल्लाको गौरीगङ्गास्थित नुक्लीपुर घरबास ‘होमस्टे’मा मघौटा नाचका साथै घैँटो फोर कार्यक्रमको आयोजना गरिएको घरबास सञ्चालक दिनेश दहितले जानकारी दिनुभयो । कैलालीको बर्दगोरिया धाममा पनि माघी मेलाको आयोजना गरिएको छ । जिल्ला धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने स्थानमा मेलाको आयोजना गरिएको छ ।
सुन्दरहरैँचामा ‘माघी महोत्सव
जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।
‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् ।
संयोजक चौधरीले माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धनन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो । “महोत्सवमा ४० वटा औद्योगिक, ३० वटा खानपिनको कक्ष छन्”, उहाँले भन्नुभयो, “स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिलाई विशेष प्राथमिकता दिएका छौँ ।”
महोत्सवमा थारू सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति,  खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शनलगायत रहेका छन् । साथै कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका प्रदर्शनी कक्ष, मनोरञ्जनात्मक खेल रहेका सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले थारू सङ्ग्रहालयमा थारू संस्कार तथा संस्कृति झल्किने सामग्रीहरू राखिएका उल्लेख गर्नुभयो ।
सङ्ग्रहालयका अध्यक्ष चौधरीले भन्नुभयो, “हामीले यो सङ्ग्रहालयलाई थारू जातिको सभ्यता, संस्कार, संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेका छौँ । उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको साथ सहयोग आवश्यक छ ।”
महोत्सवको व्यवस्थापनका लागि करिब रु ६० लाख खर्च आयोजकको अनुमान छ । दैनिक रु ५० लाखदेखि रु एक करोडसम्मको व्यापार हुनुका साथै दैनिक १० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा शारीरिक रूपमा अशक्त साथै विद्यालयका विद्यार्थीका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएको सुन्दरहरैँचा–४ का वडाध्यक्ष कैलाश बस्नेतले बताउनुभयो ।
थारू सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारकोतर्फबाट सहयोग र आवश्यक समन्वय गरिने सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख अकली चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेराबारका लागि रु १० लाख बजेट छुट्याएर काम सम्पन्न भएको जनाउँदै सङ्ग्रहालय निर्माणका लागि थप रु २० लाख बजेट छुट्याएको उल्लेख गर्नुभयो ।
विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार सुन्दरहरैँचा नगरपालिकाको जनसङ्ख्या एक लाख २० हजार दुई सय १३ रहेकामा यहाँ थारू जातिको जनसङ्ख्या ३३ हजार सात सय ७९ रहेको छ ।
Share Now