Prakash Adhikari January 14, 2025
जलेश्वर (महोत्तरी), १ माघः मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ ।
आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताउनुभयो ।
प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको जलेश्वर–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । सोही अनुसार आज घरघरमा सो पर्व मनाइने उहाँको भनाइ छ ।
मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाउन थालिएको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो ।
यहाँका गृहिणीले केहीदिन अघिदेखि तिल, चिउरा र भुजाको लड्डु बनाउने चलन रहेको विनिता देवीले बताउनुभयो । “महिलाको समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिका घरमा गएर चिउरा, भुजा र तिलमा सख्खर हालेर लड्डु बनाइदिने चलन छ, सोही कारण यसलाई आपसी मेलमिलापको पर्व पनि भन्ने गरिन्छ”, उहाँले भन्नुभयो ।
घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौं’ भन्ने चलन रहेको जलेश्वर–२ की अञ्जु यादवले बताउनुभयो ।
चिउरा, भुजा र तिलबाट बनाइएका विभिन्न प्रकारका लड्डुहरू घरका सबैले खानुका साथै आफन्त, नातेदार र कुटुम्बलाई पनि कोसेली पठाउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।
Share Now