Prakash Adhikari July 3, 2018

पेरिस(फ्रान्स), १९ असार । नेपाली जनसम्पर्क समिति फ़्रान्सले पूर्णता पाएको छ । समितिले असार १७ गते आइतबार तद्अनुसार १ जुलाई , २०१८ मा विशेष कार्यक्रम आयोजना गरी संस्थालाई पूर्णता दिएको हो ।

समितिको संरक्षकमा मनोनीत किरणचन्द्र प्रधान, संस्थापक अध्यक्षमा निर्मल अर्याल, विशेष सल्लाहकारमा तप्त भण्डारी र सुबर्णबिक्रम हमाल तथा पूर्ण कार्यसमितिका लागि ३ जना सदस्य मनोनित गरिएको छ ।

मनोनित कार्यसमितिका ३ जनामा कृष्ण गुरुंग, विकास केसी र टीकाराम सापकोटा रहनुभएको छ । उहाँहरुलाई विशेष सम्मानका साथ प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति फ़्रान्सका महामन्त्री कमलबिक्रम के सीले संचालन गर्नुभएको कार्यक्रममा सभाका सभापति सुधीर रानाले मातृभूमिबाट टाढा रहेर पनि निरन्तर नेपाली कांग्रेसले बोकेको नीति राष्ट्रियता लोकतन्त्र र समाजवादको भावनालाई प्रवासी नेपालीहरु माझ फैलाउन महत्वपूर्ण भूमिका खेलेकोमा कार्य समितिका पदाधिकारी र सदस्यहरुको प्रशंसा गर्नुभएको थियो ।

उहाँले नेपाली जनसम्पर्क समिति फ्रान्स स्थापित गर्न दिनरात खटेर र प्रथम तथा ऐतिहासिक महाधिवेशन सम्पन्न भएकोमा सबैको प्रशंसा गर्दै सबैको साथ पाएर संगठनको गरिमा बढ़ेको बताउनुभयो । उहाँले सबैको मार्गनिर्देशन र सुझावमा संगठन चल्ने बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष निर्मल अर्यालले संगठन भरखरै बीज़ारोपण भएको र यसले अझै धेरै हाँगाबिंग़ा सहित फैलिनु र झांगिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संरक्षक किरणचन्द्र प्रधानले नेपाली कांग्रेसको इतिहास र समाजवादको बारेमा प्रकाश पार्नुभएको थियो भने सल्लाहकार सुबर्णबिक्रम हमाल र मनोनित सदस्य विकास केसीले संगठनप्रतिको आफ्नो दायित्व र सुम्पेको ज़िम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share Now

Leave a comment.