
कास्की, २९ माघ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबलको २४ औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा अर्को विदेशी टोली भारत सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्सले अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलोपटक पोखरा आएर खेलको ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ३८ औँ मिनेटमा ब्ल्याक बुल्सले स्लोमजोन अब्दुकोडिरोभको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गरेका थिए ।
खेलमा फर्किन सङ्घर्ष गरिरहेको थण्डरबोल्टलाई खेलको ७३ औँ मिनेटमा उज्वेकिस्तानका साइमोल दभ्लातजोनोभले अर्को गोल थप्दै निरास बनाए । त्यसको दुई मिनेटपछि बल्कात्जोन साटरोभले गोल गर्दै फराकिलो अन्तरको जित निकाल्स सफल भए । ब्ल्याक बुल्सले सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबसँग फागुन १ गते खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबका बीच हुने आयोजकले जनाएको छ ।
यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू १२ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।
चर्च ब्वाइजसंग आर्मी पराजित
चर्च ब्वाइज युनाइटेड पोखरामा भइरहेको २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ ।
सोमबार चर्च ब्वाइजका लागि खेलको ९० औं मिनेटमा राज भुसालले निर्णायक गोल गरे । नवीन लामाको कर्नरमा राजले हेडर गोल गर्दै विपक्षी डिफेन्डर र गोलरक्षक विकेश कुथुलाई कुनै मौका दिएनन् । खेलको अन्तिममा गोलरहित अवस्था तोड्दै राजले साबिक विजेता आर्मीलाई पाखा लगाउन भूमिका खेले ।
सर्ज डिकाको कप्तानीमा मैदानमा उत्रिएको टिमले एनआरटीलाई सडन डेथमा हराएर क्वाटरफाइनल तय गरेको थियो । बुढासुब्बामा खलेर पोखरा आएका समीर तामाङ र रोहन कार्कीलाई प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो रोजाइमा खेलाए । तर, कार्की घाइते भएपछि खेलको २५ औं मिनेटमा उनको स्थानमा राजलाई मैदान प्रवेश गराए ।
अनुभवी खेलाडीले भरिएको आर्मी राष्ट्रिय टोलीका फरवार्ड जिलेस्पीजंग कार्कीको कप्तानीमा मैदान उत्रिएको थियो । टिममा गोलरक्षक विकेश कुथु, नवयुग श्रेष्ठ, आहा–रारामा गत वर्षका सर्वोत्कृष्ट खेलाडी विमल पाण्डे, गत वर्षकै सर्वाधिक गोलकर्ता दिनेश हेन्जनलगायत अनुभवी खेलाडीसँगै नीराजन धामीजस्ता युवा खेलाडी थिए । प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा आर्मीले प्रतियोगिताबाट हात धुनुपर्यो ।
खेलको आठौं मिनेटमा चर्च ब्वाइजका मिलन राईले बायाँ भागबाट उपलब्ध गराएको क्रसमा अबायोमी फाकुन्ले बक्सबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । आर्मी २१ औं मिनेटमा अग्रता लिनबाट चुक्यो । कप्तान जिलेस्पीको पासमा दिनेश हेन्जनको हेडर चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाए । उनी पोस्टभित्र पुगेको अवस्थामा हातले भने बललाई बाहिर राख्न सफल देखिए ।
खेलको २९ औं मिनेटमा आर्मीले अर्को अवसर गुमायो । एट्याकिङ एरियामा पाएको फ्रिकिकमा दिनेश हेन्जनको प्रहार नीराजन धामीले बक्सबाट हेडर गरे पनि क्रसबारको केही माथिबाट बाहिरियो । खेलको ४८ औं मिनेटमा जिलेस्पीले दायाँ भागबाट उपलब्ध गराएको क्रसमा नीराजनले हेड गर्ने प्रयास गरे । उनलाई छोएर गएको बलमै दिशान्त राईले गरेको प्रहार विपक्षी गोलरक्षकले बचाए । लगत्तै काउन्टर एट्याकमा चर्च ब्वाइजले सुन्दर अवसर गुमायो ।
अबायोमी फाकुन्लेले दायाँ भागबाट दिएको क्रसमा अनमार्क समीर तामाङले फितलो प्रहार गरे । खेलको ५७ औं मिनेटमा राजको पासमा मिलन राईको हेडर पोस्टमा लागेर फर्कियो । खेलमा मिलन राई प्लेयर अफ द म्याच घोषित भए ।