Prakash Adhikari November 21, 2026

 

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ।

एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारको गठन आतङ्क, आगजनी र तोडफोडबाट सुरु भएको बताउनुभयो।

देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको उल्लेख गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो। प्रधानन्यायाधीश भइसकेको व्यक्ति संविधान मिचेर प्रधानमन्त्री बनेको र उहाँकै एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको पूर्वप्रधानमन्त्री ओलीको भनाइ थियो।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतङ्कपूर्ण, आगजनी र तोडफोडबाट सुरु भएको हो। योभन्दा अघिल्लो प्रधानमन्त्री संविधान मिचेर आफैँ प्रधानन्यायाधीश भएर पनि कसले लगेर कुर्सीमा राख्यो थाहा नपाइकन प्रधानमन्त्री भएर मनपरी तन्त्र चलाएर व्यक्तिगत तवरमा संसद् विघटनको सिफारिस गर्नुभयो।’

राष्ट्रपतिप्रति टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। त्यो साँचो कुरा हो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। अनि असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले समयमै फैसला नसुनाएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। अदालतको अपमान नगरेको स्पष्ट पार्दै ओलीले भन्नुभयो, ‘सर्वोच्च अदालतले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठिक छ, हराउनुस्, अन्याय गर्नुस् तर फैसला त गर्नुस्। उहाँहरूको मनले असंवैधानिक ढङ्गले विघटन गर्नु ठिकै छ भन्ने लाग्थ्यो भने त्यही भनिदिए भइहाल्थ्यो नि। तर, फैसला नै नगरेर चुप लागेर बस्नुभयो। अहिले पनि मुद्दा छँदै छ।’

देश संवैधानिक ढङ्गले नचलेको र लोकतान्त्रिक संस्थाहरू कमजोर पार्दा राज्यको कुनै पनि निकायले प्रतिवाद नगरेको देख्दा आफूलाई अचम्म लागेको ओलीले बताउनुभयो। लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको आरोप लगाउँदै उहाँले राज्यका निकायहरू आदेशका भरमा नभई कानुनअनुसार चल्नुपर्नेमा जोड दिनुभयो।

एमाले अध्यक्ष ओलीले देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्न दबाब दिन युवाहरू सङ्गठित हुनुपर्ने आवश्यकता औल्याउनुभयो।

Share Now