
काठमाडौँ, १२ फागुनः नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवसको अन्तिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले उक्त कार्यक्रमको पूर्वाभ्यास निरीक्षण गर्नुभएको थियो । कार्यक्रममा उहाँले श्री चरक बाहिनीलाई युनिट झण्डा प्रदान र केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षणमा सर्वोत्कृष्ट भएको श्री मध्य पूर्वी पृतनालाई पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा उहाँले प्रकृति संरक्षण ट्रफी प्रतियोगिताअन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री नयाँ गोरख गण र ढोरपाटन सिकार आरक्ष सुरक्षार्थ तैनाथ श्री देविबक्स गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
प्रधानसेनापतिले सेना दिवसको अवसरमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्नुहुने रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति हुनुभएका पदिकलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानसेनापतिले अवकाशपश्चात् पनि विभिन्न तवरबाट समाजमा पु¥याएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई पुरस्कृत गर्नुभयो ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस यही फागुन १४ गते सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । सो कार्यक्रममा नेपाली सेनाका साथै संयुक्त राज्य अमेरिका, बेलायत र भारतीय सेनाका व्याण्ड टोलीबाट संयुक्त साङ्गीतिक प्रस्तुति हुने सेनाले जनाएको छ ।
युनिटी जर्नल छैटौँ संस्करण विमोचन
नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेखरचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ । प्रधानसेनापति सिग्देलले आज विमोचन गर्नुभएको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी प्रकाशन गरिएको हो ।
खुला सामरिक लेखरचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायकरथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधानसेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । प्रधानसेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यका साथै लेखकहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथीवृन्द, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।