Prakash Adhikari February 26, 2025

काठमाडौं, १४ फागुन। काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।

खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।

नेपाली चेलीहरुको लागि घरेलु मैदानमा भएको यो फाइनल प्रतिष्ठाको विषय बनेको छ । नेपाली चेलीहरु अहिलेसम्म १३औं पटकसम्म फाइनलमा पुगेका छन् । तर हालसम्म सम्पन्न एक दर्जन खेलमा उपाधि चुम्ने अवसर भने खोसिएको छ । नेपाली चेलीहरु त्यो अवसरलाई हासिल गर्न चाहन्छन् यस पटक ।

नेपाली टिमका कप्तान र प्रशिक्षकले म्यानमारसँग फाइनल खेलका लागि नेपाली टिम तयार भएको बताएका छन् ।

फाइनलअघि मंगलबार प्रि म्याच प्रेस कन्फ्रेन्स आयोजना गरिएको थियो । जसमा नेपालका कप्तान र मुख्य प्रशिक्षकले आफ्नो टिम म्यानमारसँग फाइनल खेल्न तयार रहेको र यस पटक उपाधि जित्ने विश्वास व्यक्त गरे ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणका तीनै खेलमा राम्रो प्रदर्शन गरेको र फाइनलका लागि अन्तिम तयारीमा रहेको बताए । ‘लिग चरणका खेलहरूमा राम्रो प्रदर्शन भयो । अब फाइनलको तयारीमा छौं’ उनले यसअघिका कमजोरी सुधार गर्दै फाइनलमा राम्रो प्रदर्शन गर्ने बताए ।

नेपाली राष्ट्रिय टिमकी कप्तान एन्जिलाले पनि प्रशिक्षकले भनेजस्तै यसअघिका खेलमा राम्रो भएको र फाइनलमा बेस्ट प्रदर्शन गर्ने बताइन् । ‘समग्रमा अहिलेसम्म सबै खेल राम्रो भयो । सबै खेलाडीले राम्रो खेलिरहनु भएको छ । सबैजना क्षमतावान् खेलाडी छन् र जसलाई खेलाएपनि खेल्न सक्छ’ एन्जिलाले भनिन्, ‘अब फाइनलमा फाइट गर्ने हो । आजसम्म हामी दुवै टिम सिल्भर मेडलमा छौं । भोली गोल्ड मेडलका लागि फाइट गर्नेछौं।’

‘ एक टिम मात्र च्याम्पियन बन्ने हो । जसले धेरै मिहिनेत गर्छ अनुशासनमा खेल्छ त्यसैले जित्ने हो । हामी तयार छौं र आफ्नो तर्फबाट बेस्ट दिनेछौं’ उनले भनेकी छन् ।

Share Now