
काठमाडौँ, १८ फागुन : नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायहरुको सहभागितामा अभ्यास हातेमालो सुरु गरेको छ ।
तीनदिने केन्द्रीयस्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौँ संस्करण जङ्गी अड्डामा आजदेखि सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको अगुवाइमा राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभ्यास २०७५ सालदेखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ ।
युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, रेडक्रस तथा गैरसरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो ।