Prakash Adhikari August 9, 2026

लण्डन(संयुक्त अधिराज्य),२३ साउन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने बताइएको छ ।

जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालले संसारलाई हिमाल र प्राकृतिक सौन्दर्य मात्र नभई आफ्नो अद्वितीय आध्यात्मिक ज्ञान र जीवनदर्शन पनि दिन सक्ने बताउनुभएको छ।

लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै गुरु शर्माले आरोग्य पर्यटनबाट नेपालीहरुको प्रतिव्यक्ति आय पाँच गुनासम्म बढ्न सक्नेपनि उल्लेख गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गुरु एलपी भानु शर्माले नेपाल लगायतका मुलुकको प्रस्तावमा संयुक्त राष्ट्र संघले हरेक वर्ष १५ अप्रिललाई विश्व आरोग्य दिवसको रुपमा मनाउन थालेको र नेपालले त्यसको नेतृत्व गर्नु पर्ने बताउनुभयो ।

उहाँले नेपालको हिमाली परम्परामा आधारित योग, ध्यान, अध्यात्म, माइन्डफुलनेस, प्राकृतिक स्वास्थ्य पद्धति तथा सचेत जीवनशैलीलाई विश्वव्यापी आरोग्यको आधारका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

यस्ता सम्पदाले नेपाललाई विश्वस्तरको वेलनेस, आन्तरिक रूपान्तरण र समग्र समृद्धिको गन्तव्यका रूपमा स्थापित गर्न सक्ने उहाँको भनाइ थियो ।

‘विश्व समुदायलाई नेपाल हेर्न मात्र होइन, नेपाललाई अनुभूति गर्न निमन्त्रणा दिनुपर्छ,’उहाँले भन्नुभयो। ‘नेपालको प्रकृति, ज्ञान, उपचार परम्परा र जीवनशैलीलाई विश्वसामु पु¥याउन हामी सबैले सहकार्य गर्न आवश्यक छ ।’

उहाँले ‘हिमालयन विज्डम, ग्लोबल वेलबिइङ’ (हिमालयको ज्ञान, विश्वको कल्याण)को अवधारणालाई अघि सार्दै नेपालको आरोग्य परम्परा केवल हाम्रो सांस्कृतिक सम्पदा मात्र नभई विश्वलाई दिन सकिने अमूल्य उपहार भएको उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई ‘सेल्फ–अवेकनिङ मेडिटेसन’ अभ्यास पनि गराइएको थियो। छोटो समयको ध्यान अभ्यासपछि धेरै सहभागीहरूले मानसिक शान्ति, वर्तमान क्षणप्रतिको सजगता तथा सकारात्मक ऊर्जाको अनुभूति गरेको अनुभव साझा गरेका थिए। यसले ध्यान केवल सैद्धान्तिक विषय नभई प्रत्यक्ष अनुभव गर्न सकिने अभ्यास भएको सन्देश दिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले गुरु शर्माप्रति धन्यवाद व्यक्त गर्दै नेपाल सरकारले आरोग्य पर्यटनको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले नेपालको आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा आत्मचेतना, मानसिक एवं शारीरिक स्वास्थ्य, आन्तरिक रूपान्तरण र समृद्धिबीचको सम्बन्धबारे सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल भएको थियो।

कार्यक्रमले नेपालको योग, ध्यान, अध्यात्म र प्राकृतिक स्वास्थ्य परम्परालाई विश्वसँग जोड्दै आरोग्य पर्यटनको नयाँ सम्भावना उजागर गरेको सहभागीहरूले बताएका छन्।

Share Now