
काठमाडौं, १९ फागुन । साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन धितोपत्र बजार परिसूचक अघिल्लो दिनको तुलनामा १३.६२ अंकले घटेर बन्द भएको छ। पछिल्ला ९ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा यस दिन झिनो करेक्सन भएको हो।
सोमबार धितोपत्र बजार परिसूचक १३.६२ अंक घटेर २८७६.६६ विन्दुमा झरेको छ। पछिल्ला ९ कारोबार दिनमा करिब २ सय १२ अंकले बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन भएको हो।
धितोपत्र बजार परिसूचक ओरालो लागे पनि यस दिन कारोबार रकम भने बढेको छ। आइतवार १४ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय स्टकको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्रीबाट १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ २० पैसा बढेर प्रतिकित्ता १ हजार २ सय ५६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।
सोमवार समाज लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ३ सय १८ रुपैयाँ ५० पैसा घटेर २ हजार ८ सय ६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको करिब साढे ३६ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।