धर्मशाला(पञ्जाब,भारत), २२ वैशाख (एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतवार सम्पन्न ५४ औं खेलमा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । यो जितसंगै पञ्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ।
धर्मशालास्थित क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गरेको छ। जितको लागि २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विजेट गुमाउँदै १ सय ९९ रनमा समेटियो।
लखनउका खेलाडीहरू ब्याटिङमा कमजोर बने। यही नै हारको कारण बन्यो। २७ रन जोड्दा माथिल्लो क्रमका तीन ब्याटर मिचेल मार्स विना रनमा, आइडेन मारक्रम १३ रनमा र निकोलश पुरन ६ रनमा आउट भए।
लखनउको लागि आयुष बडोनीले ४० बलमा ५ चौका र ५ छक्का सहित टिमको लागि सर्वाधिक ७४ रन जोडे।अब्दुल सामदले ४५ रन बनाए। यसबाहेक अन्य खेलाडीले उल्लेख गर्न लायक रन बनाउन सकेनन् ।
लखनउलाई रोक्न पञ्जाबका अर्षदीप सिंहले ४ ओभरमा मात्र १६ रन दिएर सर्वाधिक ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो।
ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन सिंहसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेर जोश इङलिस ३० रनमा आउट भए।
यसपछि प्राभसिम्रन र कप्तान श्रेयश अयरले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। श्रेयश २५ बलमा ४५ रन जोडेर आउट भए। प्राभसिम्रनको प्रदर्शन उल्लेखनीय रहयो। उनले ४८ बल खेल्दै ६ चौका र ७ छक्का सहित ९१ रनको सानदार पारी खेले। शशांक सिंह ३३ रनमा अविजित रहे।
पञ्जाबलाई रोक्ने क्रममा लखनउका आकाश सिंह र दिगभेष राथीले २ । २ विकेट लिए ।
यस्तै प्रिन्स यादवले १ विकेट लिए्।
यो सातौं जितसहित पञ्जाबले ११ खेलमा १५ अंक जोड्यो। यो सँगै पञ्जाब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
पहिलो स्थानमा रहेको रोयल च्यालेञ्जर्स बंगलुरु भन्दा पञ्जाब १ अंकले पछि रहेको छ।
लखनउको लागि भने यो ११ औं खेलमा यो छैटौं हार हो। लखनउसँग १० अंकसहित सातौंं स्थानमा रहेको छ।


















