Prakash Adhikari May 15, 2025

 

बैंकक(थाइल्याण्ड), १ जेठ । आइसीसी टी २० विश्वकप एसिया छनोट अन्तरगत आज भएको खेलमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । खेलमा उनले ४ चौका र १ छक्का प्रहार गरिन् ।

पुजा महतोले ११ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का ५ रनमा आउट भइन् ।
नेपाललाई रोक्ने क्रममा बहराइनका लागि पवित्रा शेट्टीले ३ विकेट लिइन् ।

त्यसअघि बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाउदा पानी परेको थियो । बहराइनको रासिका रोड्रीगोले २९ बलमा २४ रन जोड्दा बहराइनले राम्रो सुरुवात पाएको थियो ।

यस जितसंगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ । बहराइनको ३ खेलमा १ अंक छ ।

अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भए नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ । वर्षाले खेल हुन नसकेपनि नेपाल बढी जितको आधारमा अघि बढ्नेछ ।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

 

Share Now