Prakash Adhikari November 8, 2026

सांघाई(चीन) २२ कार्तिक। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।

आइतबार हङकङसँगको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

नेपालले सिरिजमा खेलेका ६ मध्ये ४ खेल जित्यो भने २ खेल वर्षाका कारण रद्द भए। नेपालले चीन र हङकङलाई एक–एक पटक तथा थाइल्याण्डलाई दुई पटक हराएको थियो।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। दोस्रो खेलमा आयोजक चीनसँगको खेल वर्षाका कारण रद्द भयो। त्यसपछि नेपालले हङकङलाई ९२ रनले पराजित गर्‍यो।

चौथो खेलमा पनि थाइल्यान्डलाई ५२ रनले हराएको नेपालले पाँचौं खेलमा आयोजक चीनलाई ८४ रनले पराजित गर्‍यो। अन्तिम खेलमा आइतबार हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल अघि बढ्न सकेन र नतिजाविहीन भयो।

प्रतियोगितामा नेपालसँगै आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी थिए।

Share Now