काठमाडौं, १३ साउन । कहिले चिया त कहिले अदुवा अनि कहिले गोलभेँडाको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।
वाणिज्य मन्त्रालयका अनुसार अहिले गोलभेँडा निर्यातमा भइरहेको अवरोधलाई खुलाउने विषयमा भारतसँग कुराकानी भइरहेको छ।
सूची
केही समय अघिसम्म नेपालमा उत्पादित अदुवाको भारततर्फ निकासीमा भएको अवरोध अब समाधान भएको वाणिज्य मन्त्रालयको दाबी छ।
तर चिया तथा गोलभेँडा जस्ता वस्तु भारत निकासीमा अझै समस्या रहेको किसान तथा व्यवसायीहरूको भनाइ छ।
यो सरकारले गरेको हो कि के हो? भारतबाट नेपाल आउन दिने अनि नेपालबाट हाम्रा वस्तु भारत जान नदिने?
दिलकुमारी ओझा, पाँचथरकी किसान
वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेका अनुसार नेपालका कुन-कुन कृषि उत्पादन भारत निकासी हुन दिने भन्ने भारतको सूचीमा चिया र गोलभेँडा नपरेका कारण ती वस्तु निकासीमा बेलाबेला समस्या भएको हो।
उनले भने, “चिया र गोलभेँडाको निकासीबारे कुरा आउँदा हामीले भारतसँग कुराकानी गर्यौँ। तर ती वस्तु भारतको क्वारान्टाइन सूचीमा छुटेका रहेछन्।”
किसानले उत्पादन गरेको गोलभेँडामध्ये कति त निकासी हुन नसक्दा अहिले बारीमै कुहिन थालेको किसानहरू बताउँछन्।

फिदिम नगरपालिका पाँचथरकी किसान दिलकुमारी ओझाले भारतबाट कृषि उत्पादन विना रोकतोक नेपाल आउन दिने तर नेपाली उत्पादन चाहिँ उसैगरि भारत निकासी हुन नपाएकोमा दुःखेसो पोखिन्।
उनले भनिन्, “यो सरकारले गरेको हो कि के हो? भारतबाट नेपाल आउन दिने अनि नेपालबाट हाम्रा वस्तु भारत जान नदिने?”
किन्नेको हात ‘माथि‘
कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले भारतको आफ्नै उत्पादनलाई खपत गराउन नेपाली उत्पादन आयात गर्न कडाइ गरिएको हुनसक्ने संकेत गरे।
जिसीले भने, “किन्नेको हात माथि हुन्छ, बेच्नेको तल हुन्छ।”
चिया र गोलभेँडाको निकासीबारे कुरा आउँदा हामीले भारतसँग कुराकानी गर्यौँ। तर ती वस्तु भारतको क्वारान्टाइन सूचीमा छुटेका रहेछन्।
चन्द्र घिमिरे, सचिव, वाणिज्य मन्त्रालय
तर भारतसँग कहिले कुरा मिल्ला र कृषिजन्य उत्पादन गरेर आम्दानी गर्ने किसानले राहत पाउलान् भन्ने कुरा अन्योलमै छ।
वाणिज्य मन्त्रालयका सचिव घिमिरेका अनुसार यो समस्या चाँडै समाधान गर्न मन्त्रालयकातर्फबाट प्रयास भइरहेको छ।
सस्तो मूल्यमा किनेर बजारमा महँगो मूल्यमा बेच्ने बिचौलियाको मारमा किसान परेकै थिए। तर निर्यातका विषयमा नेपाल र भारतबीचको वार्ताले अहिलेसम्म ठोस परिणाम नदिँदा थप मर्का परिरहेको किसानहरूले बताएका छन्।
बीबीसीबाट


















