Prakash Adhikari November 10, 2026
काठमाडौँ, २४ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रुपमा रहेको बताउनुभएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधरले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याइएको स्मरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका उल्लेख गर्नुभएको छ ।
काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा यस दिनलाई नयाँ संवत् सुरू हुने विशेष पर्वका रूपमा मनाउने गरिएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्नुभएको छ ।
राष्ट्रपतिले निःस्वार्थ भावले सामाजिक समानता, सुशासन,  उन्नति र प्रगतिका लागि अग्रसर एवम् प्रतिबद्ध रहन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मौलिक संवत् (नेपाल संवत्)ले सम्पूर्ण नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न सकोस् भनी कामना गर्नुभएको छ । नेपाल संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ ।
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताउनुभएको छ ।
साख्वाले देखाउनुभएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
“नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ, नेपाल संवत्ले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ ।
उहाँले नेपालको यस मौलिक संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भनी कामना गर्नुभएको छ  । “युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस् । साथै, हामी सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस्”, सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति यादवले समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल
 राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताउनुभएको छ ।
तिहार, नेपाल संवत्, छठ एवम् विविध सांस्कृतिक पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्व मनाउने क्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा वातावरणमैत्री, मर्यादित र मितव्ययी अभ्यासलाई प्रोत्साहन गर्न आमनागरिकमा अपिल गर्नुभएको छ ।
नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्व अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताउनुभएको छ ।
प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पर्व भएको जनाउँदै उहाँले काग, कुकुर, गाई र गोरूलाई पुज्नेदेखि भाइटीकाका माध्यमबाट विभिन्न प्राणीप्रति सम्मान, कृतज्ञता, प्रेम र पारिवारिक सम्बन्धको महत्त्वलाई यस पर्वले आत्मसात् गरेको बताउनुभएको छ ।
दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने भन्दै उहाँले देउसीभैलो, दीप प्रज्वलन र आपसी सद्भावले हाम्रो सामाजिक तथा सांस्कृतिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्नुभएको छ ।
अध्यक्ष दाहालले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
—
Share Now