Prakash Adhikari June 12, 2025

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले बैंकर तथा अर्थविद् डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको छ ।

समितिले केन्द्रीय बैंकलाई बैकिग क्षेत्रमा गर्नुपर्ने सुधारसहितको प्रतिवेदन दिने छ । राष्ट्र बैंकले एक महिनाको समय तोकेर केही ‘टिओआर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो ।

राष्ट्र बैंकको २१ जेठमा बसेको सञ्चालक समिति बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंककै पूर्वकर्मचारी धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बनाइएको समितिमा बैंकर भुवन दहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहनुभएको छ ।

बैंकिङ क्षेत्रमा देखिएका समस्या केलाउदै तीनलाई सम्बोधन गरी नेपालको बैंकिड. क्षेत्रलाई आधुनिक र विश्वस्तरको सेवा प्रदान गर्न सक्षम बनाउने उपायहरु समितिले सुझाउने विश्वास गरिएको छ ।

कोरोनापश्चात् नेपालमा लगानीको वातावरण प्रतिकूल रहन गई नेपालका बाणिज्य बैंक,विकास बैंक, फाइनान्स कम्पनी र लघु वित्तहरुको अवस्था बिग्रदै गएको छ ।

समितिलाई नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सले राखेको सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर ल्याउने नीति र कार्यक्रम सुझाउन पनि कार्यादेश दिइएको छ ।

समितिले आागमी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा हुनु अगावै प्रतिवेदन बुझाउने विश्वास गरिएको छ । समितिले केन्द्रीय बैंकको नियामकीय क्षमता अभिबृद्धि र बैंकहरुको समस्या संबोधनका लागि उपयुक्त सुभाव दिने बताइएको छ।

Share Now