अहमदाबाद(भारत) २९ जेठः भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २०० भन्दा बढी ‘शव प्राप्त’भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २०० भन्दा बढी ‘शव प्राप्त’भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २०० भन्दा बढी ‘शव प्राप्त’
भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको एअर इन्डियाले जनाएको छ।
एअर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, “अहमदाबाद-लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।”
एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।
‘कोही जीवित रहने सम्भावना छैन’
भारतको अहमदाबाद सहरका प्रहरी प्रमुखले बताएअनुसार उडान गरेको केही समयभित्रै आवासीय क्षेत्रमा खसेको एअर इन्डियाको दुर्घटनाग्रस्त यात्रुवाहक विमानमा कोही पनि जीवित बचेको हुन सक्ने सम्भावना देखिँदैन।
उनले विमान दुर्घटनास्थलबाट हालसम्म २०० वटाभन्दा बढी शवहरू निकालिसकिएको जानकारी दिएका छन्। उनका अनुसार घाइते भएका ४० जनाभन्दा बढीलाई अस्पतालहरूमा लगिएको थियो।
उक्त बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा यात्रु र चालकदल गरी २४० जनाभन्दा बढी मानिसहरू सवार थिए। प्रहरी कमिश्नरका अनुसार उक्त विमान विमानस्थलनजिकै डाक्टरहरू बस्ने एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो र त्यस क्रममा जमिनमा पनि मानिसहरू हताहत भएका छन्।
गुजरात राज्यको अहमदाबाद सहरबाट लन्डनको ग्याटविक विमानस्थलतर्फको यात्रामा रहेको उक्त विमानमा धेरैजसो भारतीय नागरिकहरू सवार थिए।
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एअर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन्।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले “युद्धस्तरमा तत्काल उद्धार तथा राहतको कार्य गर्न” निर्देशन दिइएको बताएका थिए।
अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका छन्।
दुर्घटना कुन स्थानमा भएको थियो
एअर इन्डियाको यात्रुवाहक विमान पश्चिम भारतस्थित अहमदाबादको विमानस्थल नजिकै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
उक्त विमान उडेको केही सेकेन्डभित्रै त्यसबाट अन्तिम संकेतहरू प्राप्त भएका उडानहरूको निगरानी गर्ने वेबसाइट फ्लाइट रेडारले जनाएको छ। त्यसबेला उक्त विमान ६२५ फिटको उचाइमा आकाशमा रहेको थियो।
अहमदाबादका एकजना वरिष्ठ प्रहरी अधिकारीले एएनआइ समाचार एजेन्सीसँग कुरा गर्दै लन्डनतर्फको यात्रामा जान लागेको उक्त विमान डाक्टरहरूको होस्टेलमाथि खसेको बताएका छन्। उनले दुर्घटनाको केही मिनेटभित्रै घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रण कर्मचारी र अन्य उद्धारकर्मीहरू पुगेको बताएका छन्।
बीबीसी भेरिफाइका जोश चितमको विवरण अनुसार उक्त विमान दुर्घटना हुँदा त्यसस्थलमा मौसमी अवस्था सफा र स्थिर रहेको उडान सुरक्षा विज्ञ मार्को चानले बताएका छन्। सतहमा हावाको वेग हल्का गरेको र भिजिबिलिटि पनि ६ किलोमिटर रहेको मेटार भनिने उडान मौसम भविष्यवाणीकर्ताले जनाएको छ।
चान भन्छन्,”त्यहाँ उक्त घटना हुनेगरी कुनै उल्लेख बादल वा मौसमी गतिबिधिको अवस्था थिएन र चर्को हावा, आँधी बेहरी वा अन्य प्रतिकुल मौसमी अवस्था रहेको विवरण पनि प्राप्त भएको छैन।”
एअर इन्डिया के भन्छ?
एअर इन्डियाले दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने बताएको छ।
एअर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले एक्समा लेखेका छन्, “म गहिरो दु:खका साथ आज अहमदाबादबाट लन्डन ग्याटविकतर्फ जान लागेको एअर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको जानकारी दिँदैछु।”
उनले उक्त दर्दनाक घटनाबाट प्रभावित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्नमा आफ्नो प्रमुख ध्यान केन्द्रित भएको उनले बताए।
अहमदाबाद विमानस्थलको टर्मिनल १ का व्यवस्थापकले बीबीसी हिन्दीसँग कुरा गर्दै विमानस्थल क्षेत्रको बाहिर धुवाँको मुस्लो देखिएको र त्यसको जाँचको लागि एक टोली खटाइएको बताएका छन्।
विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ।
सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा उक्त विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुन सक्ने र त्यहाँबाट कालो धुवाँ उडिरहेको देख्न सकिन्छ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार संस्था पीटीआईसँग बोल्दै भने, “विमानस्थलको नजिकै मेघाणीनगर इलाकामा एक विमान दुर्घटनाग्रस्त भएको छ।”
अग्निनियन्त्रक अधिकारी जयेश खडियाले भने, “विमान दुर्घटनाग्रस्त भएपछि त्यसमा आगो लाग्यो। आगो निभाउन दमकल विभागले गाडीहरू पठाएको छ।”
भारतका नागरिक उड्डयन मन्त्री किन्जरापु राम मोहन नायडुले उनी अहमदाबादमा भएको विमान दुर्घटनाबाट “स्तब्ध र अति दुःखित भएको” बताएका छन्।
मन्त्री नायडुले भने,”हामी उच्च सतर्कताको अवस्थामा छौँ। मैले व्यक्तिगत रूपमा नै अवस्थाको निगरानी गरिरहेको छु र सबै उड्डयन तथा आपत्कालीन प्रतिक्रिया निकायहरूलाई शीघ्र र संयोजित कारबाही अघि बढाउन निर्देशन दिएको छु।”
“उद्धार टोलीहरूलाई परिचालन गरिसकिएको छ र घटनास्थलमा उपचार सहयोग तथा उद्धारको व्यवस्था पठाइसकिएको छ। विमानमा रहेकाहरू र तिनका परिवारजनको निम्ति म प्रार्थना गर्दछु।”
‘बोइङ ७८७ यसरी दुर्घटनाग्रस्त भएको पहिलोपल्ट हो’: जोनाथन जोसेफ्स, व्यापार संवाददाता
एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाको घटना बोइङ ७८७-८ यसरी दुर्घटनामा परेको पहिलो घटना हो।
उक्त मोडल १४ वर्षअघि सुरु गरिएको थियो र ड्रिम लाइनर भनिएको यो मोडेलको यात्रुवाहक विमानले १ अर्ब यात्रु बोकेर कीर्तिमान कायम गरेको भनि केही हप्ताअघि मात्रै यसको प्रशंसा गरिएको थियो। त्यस अवसरमा बोइङ कम्पनीले विश्वव्यापी रूपमा सञ्चालनमा रहेका ११७५ वटाभन्दा बढी ७८७ विमानहरूको जत्थाले ३ करोड उडान घण्टा हुने गरी पचास लाख उडानहरू गरेका पनि जनाएको थियो।
अब यो दुर्घटना उक्त कम्पनीका लागि ठूलो धक्का हो जसले विभिन्न समस्याहरूसँग जुझ्न सङ्घर्ष गरिरहेको छ जुन समस्यामा ७३७ विमानहरू दुर्घटनाग्रस्त भएका घटनाहरू पनि पर्दछन्।
पदभार सम्हालेको पहिलो वर्षगाँठ मनाउन लागेका उक्त कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गका लागि यो अर्को कठिन परीक्षाको घडी बन्न पुगेको छ।
कम्पनीको भविष्यमाथि प्रश्न खडा गर्ने विभिन्न प्रकारका समस्याहरूबाट उक्त अमेरिकी विमान निर्मातालाई माथि उकास्न उनलाई नियुक्त गरिएको थियो।


















