क्वाललम्पुर(मलेशिया), १५ आषाढ । ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्मा चम्किएपछि एसीसी मेन्स यु १६ इस्ट जोन कप २०२५ अन्तरगत भएको आजको खेलमा नेपालले शानदार विजय हासिल गरेको छ ।
एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रममा नेपालले आज इण्डोनेसियालाई ३ सय ७० रनको विशाल अन्तरले हरायो ।
४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।
इण्डोनेसियाका लागि कविन निरज चन्दा ३४ बलमा १५ र दिभित नन्दा ३१ बलमा १४ रनमा आउट भए । इण्डोनेसियाका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
इण्डोनेसियालाई रोक्ने क्रममा नेपालका लागि कप्तान विपिनले ७.ा३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले समान १ । १ विकेट लिए ।
त्यसअघि मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको विशाल योगफल तयार गरेको थियो ।
नेपालका लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ३२ रनको शतकीय इनिङ खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग ६२ बलमा १ सय ३२ रनको विशाल साझेदारी गरे ।
परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि क्रिजमा आएका शिवान्स बजगाईंले ६ बलमा ४ रन बनाए ।
प्रसिद्धले तेस्रो विकेटका लागि रौनक श्रीवास्तवसँग मिलेर १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गरे । रौनकले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले ।
पाँचौ विकेटका लागि सुगम बुढाथोकी र जोय थापाकाबीचमा ५७ बलमा ७४ रनको साझेदारी भयो । जोय ४१ बलमा ७ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।
खेलमा सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम ३४ बलमा ३९ तथा रोशन १० रनमा अविजित रहे ।
नेपाललाई रोक्ने क्रममा इण्डोनेसियाका किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १। १ विकेट लिए ।
इण्डोनेसिया एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।
एसियाली क्रिकेट परिषद् (एसीसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।
नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१)मा हुनेछ ।


















