आबुधावी(संयुक्त अरब ईमिरेट्स), १ असोज । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।
एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले यूएईले अहिले भिजिटर र वर्किङ दुवै भिसा बन्द गरेको जानकारी दिनुभएको छ ।
उहाँले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभए पनि हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको बताउनुभयो ।
आबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।
भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबईस्थित विभिन्न कम्पनीहरूले ं बताएका छन् ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।
भिजिट भिसा रोकियो
संयुक्त अरब इमिरेट्सले नेपालमा चर्केको जेन जी आन्दोलनका क्रममा भएको विध्वंसक घट्नालाई मध्यनजर गरेर नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको अनुमान गरिएको छ ।
नेपालमा हालै भएको आन्दोलनमा नवयुवा पुस्ताको नाममा नेपालका नेताहरुको निजी निवास, देशकै ऐतिहासिक धरोधर, कार्यपालिका,न्यायापालिका र व्यवस्थापिकाका भवनहरु, देशभरका सरकारी कार्यालयहरु,मन्त्रीहरुको सरकारी निवास,संवैधानिक निकायका भवन र नेपाल प्रहरीका केन्द्रदेखि पालिका तहसम्मका भवनहरु ध्वस्त पारियो, त्यसले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु युएई आएमा त्यहाँ पनि ध्वंसात्मक कार्यमा संलग्न हुन्छ कि भन्ने भय एकातिर देखिन्छ ।
अर्कोतिर यो आन्दोलनका क्रममा नेपालका अधिकांश जेल फोडेर अपराधमा संलग्न बन्दीहरु भागेकोले त्यस्ता विगत भएका व्यक्तिहरु पनि युएई भित्रिन नपाउन भन्नेमा यहाँको सरकार सजग देखिएको बताइन्छ ।
नेपालबाट युएई आउने व्यक्तिहरु यस्तो अराजक आन्दोलनमा सहभागी भए नभएको परीक्षण गर्ने उपयुक्त विधि हालसम्म अबलम्बन नगरिएकोले भिजिट भिसा दिन एकाएक रोक लगाइएको बुझिएको छ ।
भिसासम्बन्धी काम गर्ने नेपाली ट्राभल्स एजेन्सीहरूले सोमबार बिहानदेखि सबैजसो भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन् । यूएई सरकारले अनलाइनमार्फत नै भिसा जारी गर्दै आएको थियो ।
एक ट्राभल एजेन्सी सञ्चालकका अनुसार युएईको दुबई इमिरेट्सले केही पहिलादेखि नै भिजिट भिसामा कडाइ गरेको थियो । दुबई इमिरेट्सले कडाइ गरेपछि नेपालीहरूले शारजाह इमिरेट्सबाट भिसाका लागि आवेदन दिने गरेका थिए । दुबईबाट ९० प्रतिशत भिसा अस्वीकृत हुने गरेको थियो । शारजाहको भिसा आइरहेको थियो । त्यो पनि रोकिएको ट्राभल एजेन्सी सञ्चालकहरुले बताएका छन् ।
शारजाहले १ हजार ३० दिराम डिपोजिट राखेर एक महिनाको म्याद भएको भिसा ५५० र दुई महिनाको भ्याद भएको भिसा ६५० दिराममा दिने गरेको थियो। अचानक सोमबार बिहानदेखि नेपालीहरूको भिसा एसेप्ट भएको छैन । यसलाई अस्थायी प्रतिबन्धका हेरिएको छ ।
हाल यूएईको भिसासम्बन्धी काम ट्राभल्स एजेन्सीले अनुमति लिएर गर्दै आएका छन् । त्यस्तो सेवा दिने ट्राभल्स एजेन्सीहरु नेपाल र दुबईमा सञ्चालित छन् । दुबई इमिरेट्सले गत जनवरीदेखि नै भिसामा कडाइ गरेको थियो ।
दुबईले सेप्टेम्बरदेखि डिसेम्बरसम्म एम्नेस्टी (आममाफी) दिएको थियो ।एम्नेस्टी लगत्तै दुबईको भिसा टाइट भएको, आबुधाबीले पहिले नै बन्द गरेको र अहिले शारजाहले पनि रोकेपछि नेपालीलाई यूएई यात्रामा असहज हुने भएको सरोकारवालाले बताएका छन् ।
जबकि नेपालीहरु भिजिट भिसामार्फत ठुलो सङ्ख्यामा यूएई जाने गरेका थिए । यतिमात्रै होइन भिटिज भिसामै गएर नेपालीहरूले त्यहाँ काम खोजेर वर्किङ भिसामा बस्ने बन्दोबस्त पनि गर्दै आएको थिए ।
यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ । यस बाहेक कैयन नेपाली भिजिट भिसा मार्फत दुबईलाई ट्रान्जिट बनाएर त्यहाँबाटै सेटिङमा अन्य मुलुकमा पनि पुग्ने गर्छन् ।


















