Prakash Adhikari September 28, 2025

काठमाडौं, १२ असोज । गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलन र विध्वंशात्मक गतिविधिको जाँचबुझ गरी दोषी उपर कारवाही सिफारिस गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, तात्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले उनीहरूको राहदानी (सपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा विदेश भ्रमणमा रोक लगाउनु भनेको छ ।

आयोगले उहाँहरुलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ । छानविन र जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो ।

गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गर्नुभएको छ।

तर गृह मन्त्रालयले त्यतिबेला ‘ भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको बताइन्छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले आत्मरक्षाका लागि आवश्यक परे गोली चलाउन आदेश दिनुभएको थियो ।

जाँचबुझ आयोगले जेन–जी आन्दोलन दमनमा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक सहित प्रमुख जिल्ला अधिकारी रिजालको पनि भूमिका हुनसक्ने देखिएको छानबिन नसकिएरम्म विदेश लाग्नबाट रोक्न यस्तो व्यवस्था गरेको हो ।

६ वर्षअघि जारी भएको राहदानी ऐनमा केही निश्चित कसुरमा व्यक्तिमाथि अनुसन्धान जारी भएमा पासपोर्ट रोक्का गर्न सकिने उल्लेख छ ।

ऐनको दफा १२(क)मा राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचविखन, अपहरण, लागूऔषध, अवैध हतियार, संगठीत अपराध र आतंकवादको आरोपमा अनुसन्धान भइरहेमा पासपोर्ट रोक्का गर्न सकिने उल्लेख छ ।

त्यसबाहेक नेपाल सरकार वा राहदानी जारी गर्ने निकायले पनि कारण र आधार खुलाएर राहदानी रोक्का गर्न सक्ने कानूनी व्यवस्था छ ।

Share Now