Prakash Adhikari October 26, 2026

 

कीर्तिपुर(काठमाडौं), ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तरगत समुद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ विकेटको क्षतिमा ६१ बल बाँकी छँदै ९.५ ओभरमा हासिल गर्यो।

पहिलो विकेटका लागि लुम्बिनीका ओपनर डार्सी सर्ट र आशिफ शेखले ६.२ ओभरमा ७१ रनको साझेदारी गरे। डार्सीले ४० र आशिफले ३२ रन बनाए । निरोशन डिकवेला ७ रन जोडेर आउट भए।

सुदूरपश्चिमका लागि अनिल खरेलले २ र कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

उद्घाटन खेलले दोस्रो सिजनको फाइनल खेलको झल्को दिएको थियो। अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६६ बल बाँकी हुँदा ६ विकेटले पराजित गरेको थियो।

गत सिजनको फाइनल र यो सिजनको उद्घाटन खेलमा रन र विकेटका हिसाबले उस्तै रह्यो। गत सिजन सुदूरपश्चिम ८५ रनमा अलआउट भएको थियो।

लुम्बिनीका रुवेन ट्रम्पलमेन, शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिएका थिए। सुदरपश्चिमका लागि इशान पाण्डेले ३३ र दिपेन्द्रसिंह ऐरिले १३ रन बनाएका थिए।

आज लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो।

बलिङतर्फ लुम्बिनीका किशोर महतो र शेर मल्ल चम्किए। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्नमा किशोर महतोले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २८ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले ४ ओभरमा ११ रन दिदै ३ विकेट लिए।

किशोरले पाचौँ ओभरको दोस्रो बलमा आरिफ शेख र चौथो बलमा ब्रान्डन म्याकमिलन, १३ औँ ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह र चौथो बलमा हेमन्त धामीको विकेट लिएका थिए।

शेर मल्लले विनोद भण्डारी, शरफेन रदरफोर्ड र स्कट कुग्गेलिजनलाई आउट गरे ।

खेलमा लुम्बिनीका साड्ली भान स्कालविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले समान १ । १ विकेट लिए।

सुदुरपश्चिमका लागि कप्तान दिपेन्द्रले २७ रनको सर्वाधिक योगदान दिए। उनले २३ बलमा २ चौका हाने।

ओपनर सैफ जैवले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। विनोद भण्डारीले ९ र इशान पाण्डेले ७ रन बनाए।

एनपीएलमा मंगलबार २ खेल हुनेछन्। दिउँसो १२ः३० मा सुरु हुने खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ। कर्णाली याक्स र जनकपुर बोल्ट्स साँझ ५ बजे टीयु मैदानमा भिड्ने छन्।

Share Now