Prakash Adhikari November 3, 2025

 

नवीमुम्बई(महाराष्ट्र,भारत), १७ कार्तिक। दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतीय महिला क्रिकेट टिमले महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।

आइतबार भहाराष्ट्रको नवी मुम्बईको डी.वाइ. पाटिल स्टेडियममा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै विश्वच्याम्पियन बनेको हो।

यसअघि भारत सन् २००५ मा अस्ट्रेलिया र २०१७ मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएको थियो। तर, तेस्रो प्रयासमा भारतीय महिलाहरुले इतिहास रच्ने सफलता हात पारे ।

पहिलोपटक महिला विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबिनाको सामना भएको थियो। यस पटक दुवै टोली फाइनलसम्म पुग्न नसकेपछि नयाँ च्याम्पियन पक्कै हुने निश्चित भइसकेको थियो।

दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतले राम्रो सुरुआत गरेको थियो। स्मृति मन्धना र शेफाली बर्माको ओपनिङ जोडीले १ सय ४ रनको साझेदारी गर्यो।

शेफाली (७८ बलमा ८७ रन) र दिप्ती शर्माको अर्धशतक (५८ बलमा ५८ रन)को मद्दतमा भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रनको बलियो योगफल बनायो।

रिचा घोषले पनि २४ बलमा ३४ रनको इनिङ्स खेलिन्।

जवाफ ओलिएको दक्षिण अफ्रिकाको सुरुआत सुस्त रह्यो। ओपनर लौरा भोल्फार्टले कप्तानका रूपमा सानदार प्रदर्शन गर्दै ९८ बलमा १ सय १ रन प्रहार गरिन्। तर, उनी आउट भएपछि टोली धराशायी भयो।

दिप्ती शर्माको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २ सय ४६ रनमै अलआउट भयो र नतिजा भारतको पक्षमा सुम्पियो ।

Share Now