Prakash Adhikari November 16, 2025

काठमाडौं, ३० कार्तिक । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अंकले घटेर २५४०.४० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १.१३ अंकले बढेर २५४५ बिन्दुमा रोकिएको थियो ।

आइतबार नेप्सेमा कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा ३ अर्ब ४३ करोड माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यस दिन तीन समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन ०.१८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशतले र अन्य समूह ०.७२ प्रतिशत बढेका छन् ।

त्यस्तै बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटे ।

यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएका सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै नबिल डिबेन्चर २०८५को ९.९१ प्रतिशतले र नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । रुरु जलविद्युत्‌को ९.५२ प्रतिशतले, दरामखोला हाइड्रोपावरको ६.०९प्रतिशतले, पिपुल्स हाइड्रोपावरको ५.२३ प्रतिशतले तथा माबिलुङ इनर्जीको ४.३७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका धितोपत्रमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर छन् ।

Share Now