काठमाडौं, १ मंसिर । साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजार उकालो लागेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार सामान्य अंक घटेर बन्द भएको शेयर बजार , यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
सोमबार धितोपत्र बजार परिसूचक ९.७८ अंक बढेर २५५०.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेका छन्।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३५ स्टकको८८ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ३६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ।
यस दिन शेयर बजारका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। त्यसतै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।


















