Prakash Adhikari August 26, 2018

 

काठमाडौं, १० भदौ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा चाड हिन्दु धर्मालम्बीहरुले रक्षाबन्धन गरेर मनाउदै छन् ।

तिथिका आधारमा मनाईने यो चाड प्रत्येक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ ।

२०७५ भाद्र ९ गते दिउँसो २ बजेर २८ मिनेट बाट पूर्णिमा सुरु भएर १० गते बेलुकी ४ बजेर १४ मिनेट सम्म रहेको छ । परम्परा र हिन्दु संस्कार अनुसार कुनै पनि चाडबाड तिथिले दुई दिन परेमा सूर्यादयलाई ध्यानमा राखी पछिल्लो दिनमा मनाईने प्रचलन रहेकोले १० गते आईतबार रक्षा बन्धन मनाईन लागिएको हो ।

आज बिहानैदेखि मन्दीर लगायतका पवित्र स्थानमा ब्रह्माणहरुद्धारा सामूहिक रुपमा जनै मन्त्ररेर धारण गरिन्छ । यसलाई ऋषि तर्पण पनि भनिन्छ ।

 

येन बद्धो बलिराजा दानवेन्द्रो महावल ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल् ।।

अर्थ
जुन रक्षा (काँचो धागो(ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।

सत्य युगमा दानवद्धारा लखेटिएका देवगणहरुलाई बचाउँन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलिराजलाई बाधेर देवगणहरुको रक्षा गरेका थिए । त्यसरी नै म तिमीलाई बाध्दछु सुरक्षित होऊ,बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा आजपनि रक्षा बन्धन बाध्ने प्रचलन चलिआएको छ ।

सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठापूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आजपनि दानवी शक्तिबाट रक्षित हुँन र आफ्नो मन अबिचलित शान्त राखी सधै सत्कर्ममा मन लगाउन यो रक्षा बन्धन बाध्ने चलन छ ।

हरेक कार्य विधि तथा कानुनको अधिनमा रहेर सञ्चालित होस् भन्ने कामनाका साथ आफ्नो गुरु तथा पुरोहितबाट रक्षा बन्धन बाध्ने चलन छ ।

आज मन्तरेर राखेको जनै बर्षभरि घरमा हुने पवित्र कार्यहरुका लागि उपयोग गर्ने गरिन्छ ।

भारत र भारतीय संस्कृतिको प्रभाव भएका ठाँउमा भने आज दिदी बहिनले दाजुभाइलाई हातमा राखी बाधेर सुरक्षा,सुस्वास्थ्य,दीर्घायुको कामना गर्ने चलन छ ।

आज नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला पनि लाग्ने गरेको छ । रसुवाको गोसाईकुण्ड, लमजुड.को दूधपोखरी, सिन्धुपाल्चोकको पाँच पोखरी लगायतका स्थानमा स्नान गर्नाले पुण्यप्राप्ति हुने विश्वास छ ।

आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधिदिनाले मृत्यु पस्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेकोछ ।

Share Now

Leave a comment.