
काठमाडौं, १० भदौ(रासस) । सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो।
निर्मला पन्तको घटनाको छानबिनको मागका क्रममा भएका प्रदर्शनलाई उत्तेजक बनाउने प्रयास भइरहेका बेला मन्त्रीपरिषदले गम्भीर समीक्षासहित जिल्लास्थित सर्वपक्षीय बैठकको सुझावसमेतलाई ध्यान दिई सो निर्णय गरेको हो ।
गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो ।
खुनालाई शहीद घोषणा
बैठकले पन्तको घटनालाई लिएर यही भदौ ८ गते कञ्चनपुरमा भएको प्रदर्शन र झडपका क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप १० लाख रुपैयाँ सहायता दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभएको छ । बैठकले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउनेछ । बैठकले शनिबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकका निर्णयलाई सकारात्मक रुपमा लिएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।
पन्तको घटनाका सम्बन्धमा गृह मन्त्रालले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई भदौ ८ गतेको घटनाबारे पनि छानबिनको अख्तियारी दिइ छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको सिफारिश गराउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।
घटना भएको समयमा सो जिल्लामा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरी छानबिनको दायरामा लिइसकिएको छ । प्रहरी नायब उपरीक्षक र मुद्दा फाँटका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ छानबिनको दायरामा लिइएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।
मन्त्रीपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासहित सम्बन्धित सुरक्षा निकायका प्रमुखसँग छलफल गरी घटनाको शीघ्र छानबिनसहित दोषीलाई कडा कारवाही गर्न निर्देशन दिनुभएको थियो ।