मुस्ताङ, १८ भदौः मुस्ताङमा यही भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र तयाई क्षेत्रमा पु¥याएको असर, अनुकूल र विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो ।
काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकासहित ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहनेगरी तयारी थालिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन २७ गते भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका ७५३ वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ ।
विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु परिवर्तनको असरसम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचनले बताउनुभयो । सम्मेलनमा ७५३ वटै स्थानीय तहका प्रतिनिधिको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाडमा हिमपात फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपद्का घटनाको जोखिम बढ्ने विद्यमान अवस्थामा विपद्जन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्मसंस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पु¥याउँदै गइरहेको अवस्थामा जलवायु सङ्कटले निम्त्याउन सक्ने खतरा र जलवायु सङ्कटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूलका उपायसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गर्न सघाउ पु¥याउने अपेक्षा घरपझोङ गाउँपालिकाले राखेको छ ।
घरपझोङ गाउँपालिकाद्वारा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङका अन्य चार स्थानीय तह र घरपझोङसँगै भगिनी सम्बन्धमा जोडिएका स्थानीय तहले सहकार्य गर्नेछन् । यसैगरी, सम्मेलनका लागि सङ्घीय सरकार र जलवायुसँग सम्बन्धित संस्थाले आवश्यक सहकार्य गर्ने अध्यक्ष लालचनले बताउनुभयो । उहाँका अनुसार सम्मेलनका लागि रु एक करोड ७० लाख बढी लागत खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचनले सम्मेलनको तयारी ७० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो । मुस्ताङको जोमसोमस्थित कभर्ड हलमा सम्मेलनस्थल तोकिएको छ । गाउँपालिकाका अनुसार सम्मेलनमा आउने पाहुनाका लागि गाउँपालिकाभित्रका अधिकांश होटल दुई दिनका लागि अग्रिम बुकिङ गरिएको छ ।
सम्मेलनमा अतिथि सत्कार, फोटो प्रर्दशनी, प्रचारप्रसार, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन ,सांस्कृतिक झाँकी, उद्घाटन तथा बन्दसत्रलगायत कार्यतालिकासम्बन्धी सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सम्मेलनले घरपझोङ जलवायु परिवर्तनसम्बन्धी साझा घोषणापत्र जारी गर्ने छ ।
सम्मेलनमा ७५३ वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरसम्बन्धी बृहत् रूपमा छलफल तथा जलवायुसम्बन्धी बहस गर्ने गाउँपालिकाले जनाएको छ ।