Prakash Adhikari August 26, 2026
काठमाडौं, १० भाद्र । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको चट्टानसहितको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको जानकारी दिनुभयो ।
“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिन्छ । त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ,” कार्यकारी प्रमुख डा उप्रेतीले भन्नुभयो ।
तिब्बतसँग जोडिएको उक्त क्षेत्रमा अवस्थित ल्हेन्दे खोलामा गत वर्ष पनि भीषण बाढी आउँदा ठूलो क्षति पुगेको थियो।
यसैबीच अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)का विज्ञहरूले पनि आज आएको भीषण बाढीको कारण हिमपहिरो हुन सक्ने औँल्याएका छन्।
“यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ”, राष्ट्रिय समाचार समितिलाई इसिमोडका विपद् जोखिम न्यूनीकरणविज्ञ शाश्वत सन्यालले बताउनुभयो।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्ष रसुवामा आएको बाढीबाट तहसनहस भएको त्यही क्षेत्र अहिले फेरि जोखिममा परेको औँल्याएका छन्।
“ल्हेन्देखोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ। नेपाल-चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ,” रासससँग उहाँले भन्नुभएको छ।
बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्।
Share Now