Prakash Adhikari September 3, 2026
काठमाडौँ, १८ भदौः भोटेकोशी नदी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै धेरै मानिसहरू फसेको अवस्थामा रहेकाले खोज तथा उद्धार प्रयास जारी छ । नेपाली उद्धार टोलीसँगै विभिन्न मुलुकका सुरुङ उद्धार टोलीहरूले फसेका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिएका छन् ।
सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग हिलो र ठूला ढुङ्गाहरूले भरिएकाले अझै थप काम गर्नुपर्ने अवस्था रहेको सरकारले जनाएको छ । भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङमा नेपाली उद्धार टोलीसँग निकट समन्वयमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आवश्यक उपकरणसहित उहाँहरूले खोजीकार्य जारी राखेका भन्दै सहयोगका लागि एउटा एक्स्काभेटर पनि चिलिमेतर्फ पठाउन लागिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसैगरी, लाङटाङ साइटमा २५ जना नेपाली सेना, जलविद्युत् आयोजनाका दुई जना कर्मचारी तथा ‘ड्रिलिङ’ उपकरणसहित आधुनिक मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिमतर्फ अर्को सानो प्वाल खोलिएको छ । यसमा थप कार्य जारी छ ।
अपर त्रिशूली ३ ‘ए’ साइटमा कुल ९३ सदस्यीय उद्धार टोली संयुक्त रूपमा स्थलमा काम गरिरहेको मन्त्रालयको भनाइ छ । “चिनियाँ सुरुङ उद्धार टोली त्यहाँ परिचालित रहँदै नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहेको छ । थप जनशक्ति तथा उपकरणसहित टोलीलाई सुदृढ गरिएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो ।
अपर त्रिशूली ३ ‘बी’ साइटमा हाल ६७ जना नेपाली सेना र जलविद्युत् आयोजनाका तीन जना प्राविधिक विज्ञहरूको टोली एक्स्काभेटरसहित काम गरिरहेको छ । ‘भग्नावशेष संरचना खोज तथा उद्धार टोली’लाई पनि यस कार्यमा थप गरिएको छ ।
हाकुको अपर त्रिशूलीमा नेपाली सेना तथा जलविद्युत् आयोजनाका कर्मचारीहरू पुनः सुरुङभित्र प्रवेश गरी खोज कार्य जारी राखिरहेका छन् । त्यस्तै, रसुवागढी साइटमा एक्स्काभेटर परिचालन गर्न सकिने सम्भावनाको मूल्याङ्कन गर्न रेकी उडानहरू सञ्चालन भइरहेका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
अपर त्रिशूली–१ साइटमा कोरियाली सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग मिलेर अपर त्रिशूली–१ को सुरुङ खोल्ने कार्य जारी राखेको भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित ‘प्रेस ब्रिफिङ’ प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
Share Now