Prakash Adhikari August 25, 2026

—जयप्रकाश आनन्द

२७ अगस्टमा काठमाडौंमा हुन लागेको NDTV World ‘Anviksha: Ideas Across Borders—The India-Nepal Dialogue’ लाई सामान्य सञ्चारमाध्यमीय कार्यक्रमका रूपमा हेर्न मिल्दैन। आयोजककै भाषामा यो एउटा यस्तो संवाद हो, जसले नेपाललाई उसको आफ्नै दृष्टिकोण, प्राथमिकता, आकांक्षा र भविष्यका सपनाबाट बुझ्ने प्रयास गर्नेछ। कार्यक्रममा राजनीतिज्ञ, मन्त्री, कूटनीतिज्ञ, सांसद, व्यवसायी, रणनीतिक विश्लेषक, कलाकार, खेलाडी र युवा पुस्ताका प्रतिनिधिहरूलाई एउटै मञ्चमा राखिएको छ।

तर यहीँ एउटा असहज प्रश्न उभिन्छ—

यो ‘नेपाल’ आखिर कसको नेपाल हो?

कार्यक्रमको सार्वजनिक गरिएको वक्ता–सूची हेर्दा दुई दर्जनभन्दा बढी नेपाली–भारतीय व्यक्तित्वहरू देखिन्छन्। सत्ता, प्रतिपक्ष, कूटनीति, व्यापार, उद्योग, सञ्चार, संस्कृति, खेलकुद र नयाँ पुस्तासम्मलाई प्रतिनिधित्व गराउने प्रयास देखिन्छ। तर नेपालको सामाजिक–राजनीतिक संरचनामा अत्यन्त महत्वपूर्ण स्थान राख्ने मधेस र मधेसी समुदायको प्रतिनिधित्व भने प्रारम्भिक सूचीमा लगभग अदृश्य छ।

यहीँबाट विषय एउटा कार्यक्रमको अतिथि–सूचीभन्दा माथि उठ्छ। यो केवल “मलाई बोलाइएन” भन्ने गुनासो होइन। यो प्रश्न हो—
नेपालको बारेमा भारतसँग संवाद गर्दा नेपालको बहुलता कसरी परिभाषित गरिन्छ?

नेपाल–भारत सम्बन्धको सबैभन्दा संवेदनशील भूगोलमध्ये एक मधेस हो। इतिहास, संस्कृति, भाषा, पारिवारिक सम्बन्ध, व्यापार, सीमा–सम्बन्ध र जनस्तरीय आवागमनका दृष्टिले मधेस भारतसँगको सम्बन्धको कुनै परिधीय भूभाग होइन; त्यो सम्बन्धको जीवित सामाजिक सेतु हो।

त्यसैले नेपाल–भारत सम्बन्धमाथि गम्भीर संवाद गर्ने मञ्चमा मधेसको आवाजलाई अनुपस्थित गर्नु सामान्य भूल मात्र हो भन्न कठिन हुन्छ। यद्यपि, यसमा जनकपुर पनि काठमाण्डौं भन्दा कम छैन। बिगतका बर्षहरूमा जनकपुर मै यस्तै चरित्रका बिविध बिषयका कतिपय कार्यक्रमहरू बर्षेनी आयोजित हुने गरेको छ। तेहाँ पनि ‘मधेस’ भेटिदैन्। जनकपुर भेटिन्छ—पिडारी चौक, शिवचौक, जनकचौक, रमानन्दचौक भेटिन्छ। सरहदीया मैथिली प्रयोगकर्तालाई अलिक अयोग्य मानेर खाट्टी दरभंगीया मैथिलीको कोकिल आवाजले स्वयं मधेसका अन्य सबै बिविधतालाई खग्रास भित्र पारेको देखिएकै हो। तर यहाँको सवाल, यस आयोजनाको हो।

जहाँ, अझ विडम्बना के छ भने आयोजकले आफैं यस संवादलाई पूर्वनिर्धारित धारणा र पुराना कथ्यभन्दा बाहिर गएर देशलाई उसको आफ्नै आवाजमा बुझ्ने प्रयास भनेर व्याख्या गरेको छ। त्यसो भए प्रश्न स्वाभाविक छ—यदि नेपाललाई उसको आफ्नै आवाजमा सुन्ने हो भने मधेसको आवाज कहाँ छ?

यो प्रतिनिधित्वको प्रश्न हो, आरक्षणको होइन

मधेसको प्रतिनिधित्व माग्नु कुनै जातीय कोटा माग्नु होइन। न त प्रत्येक कार्यक्रममा हरेक समुदायको अनिवार्य उपस्थिति हुनैपर्छ भन्ने आग्रह हो। प्रश्न यसको प्रकृति र विषयवस्तुको हो।

जब कार्यक्रमको विषय नै भारत–नेपाल सम्बन्ध हो, जब सीमा, व्यापार, जनस्तरीय सम्बन्ध, आर्थिक सहकार्य, सुरक्षा, क्षेत्रीय राजनीति र भविष्यको द्विपक्षीय सम्बन्धमाथि छलफल हुँदैछ, तब भारतसँग नेपालको सबैभन्दा गहिरो सामाजिक सम्पर्क रहेको भूगोल र समुदायको दृष्टिकोणलाई कसरी बेवास्ता गर्न सकिन्छ?

मधेसलाई बोलाउनु भनेको मधेसलाई कृपा गर्नु होइन।नेपाललाई पूर्ण रूपमा सुन्नु हो। त्यसैले यहाँ समस्या कुनै एक व्यक्तिलाई वक्ता नबनाएकोमा मात्र होइन। समस्या त्यो छनोट प्रक्रियाले देखाउने दृष्टिकोणमा छ।

र अन्तिम समयमा एउटा निम्तो?

यसबीच सामाजिक सञ्जालमा उठेको आलोचनापछि अन्तिम समयमा प्रतिनिधि सभाका एक सदस्य, शायद एक मधेसी अनुहारलाई वक्ताका रूपमा समावेश गरिएको सार्वजनिक भएको छ। तर यहाँ अर्को प्रश्न जन्मिन्छ। के प्रतिनिधित्व भनेको आलोचना भएपछि एउटा नाम थपिदिने कुरा हो? यदि कुनै समुदाय वा भूगोललाई सुरुदेखि नै संवादको संरचनामा सोचिएको थियो भने त्यसको प्रतिनिधित्व कार्यक्रमको अवधारणा र प्रारम्भिक संरचनामै देखिन्थ्यो।

अन्तिम क्षणको निम्तोले उपस्थित व्यक्तिको गरिमा घटाउँछ भन्ने सच्चिदानन्द मिश्रको टिप्पणी यही कारणले गम्भीर छ। उहाँले सामाजिक सञ्जालमा लेखेको—

“अगर आमंत्रित नहीं किया गया तो इतना रोदन किस बात का?… नीति कहती है कि अगर किसी आयोजन में अंतिम समय में निमंत्रित किया जाए तो वहाँ कभी न जाएँ क्योंकि यह आपका अपमान है।” —भन्ने आशयलाई केवल व्यक्तिगत आक्रोश भनेर खारेज गर्न मिल्दैन।

यसमा एउटा गहिरो राजनीतिक मनोविज्ञान छ। पहिले संरचनाबाट बाहिर राख्ने, विरोध भएपछि एउटा नाम थप्ने—यो प्रतिनिधित्व होइन; क्षतिपूर्ति व्यवस्थापन हो।

मूल प्रश्न यही हो—माइन्डसेट कहाँ छ?

मेरो विचारमा यो घटनालाई केवल ‘मधेसलाई निम्तो नदिएको’ घटनाका रूपमा बुझ्नु अझै सतही हुनेछ। यो माइन्डसेटको प्रश्न हो। नेपालको राज्य–सत्ता, नीति–निर्माण र बौद्धिक विमर्शमा मधेसलाई प्रायः दुई तरिकाले हेरिएको छ—

या त समस्याको रूपमा,
या त मतदाताको रूपमा।

तर नीति निर्माणको साझेदार, ज्ञानको स्रोत र नेपालबारे विचार निर्माण गर्ने बौद्धिक शक्तिका रूपमा मधेसलाई हेर्ने संस्कार अझै कमजोर छ। यही मानसिकता राष्ट्रिय संवादका मञ्चहरूमा पनि दोहोरिन्छ। काठमाडौंमा बसेर नेपालबारे बोल्ने मानिसहरूलाई ‘राष्ट्रिय’ मानिन्छ; तर काठमाडौं बाहिरबाट नेपालबारे बोल्ने आवाजलाई पहिले ‘क्षेत्रीय’, ‘जातीय’ वा ‘मधेसी’ भनेर छुट्याइन्छ। यो विभाजन आफैंमा समस्या हो। किनभने मधेसी हुनु नेपालको नागरिक हुनुको विकल्प होइन। मधेसी आवाज नेपाली आवाजकै एउटा अविभाज्य स्वर हो।

‘नेपालले संसारलाई कसरी हेर्छ?’—तर नेपालभित्रको नेपाललाई कसरी हेर्छौं?

NDTV का सम्पादक नवीन कपूरले यस संवादको मूल प्रश्नका रूपमा अत्यन्त सुन्दर प्रश्न राखेका छन्—
“Not only how does the world see Nepal, but how does Nepal see the world?”

तर त्यसअघि नेपालले आफैंलाई कसरी हेर्छ भन्ने प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। नेपाल भनेको केवल सिंहदरबार, बालुवाटार र काठमाडौंको बौद्धिक वृत्त होइन। नेपालमा हिमाल छ। पहाड छ। मधेस छ। शेर्पा छ। नेवार छ। थारू छ। मधेसी छ। जनजाति छ। दलित छ। मुस्लिम छ। पहाडी समुदाय छ। अनेक भाषा, संस्कृति र ऐतिहासिक अनुभव छन्।

नेपालको बहुलतालाई एउटै काठमाडौं–केन्द्रित दृष्टिले प्रतिनिधित्व गर्न सकिँदैन। त्यसैले ‘नेपाललाई बुझ्ने’ नाममा नेपालभित्रैको एउटा ठूलो सामाजिक भूगोललाई नदेख्नु आफैंमा एउटा गम्भीर बौद्धिक विरोधाभास हो।

मधेसलाई अब ‘अतिथि’ होइन, ‘स्टेकहोल्डर’ का रूपमा हेर्नुपर्छ

सबैभन्दा महत्वपूर्ण कुरा यही हो। मधेसले प्रत्येक मञ्चमा आफूलाई बोलाउन माग गरिरहनुपर्ने अवस्था नै अन्त्य हुनुपर्छ। मधेस कुनै ‘विशेष निम्तो’ पर्खिरहेको समुदाय होइन। मधेस नेपाल निर्माणको साझेदार हो।भारतसँग नेपालको सम्बन्धबारे कुरा गर्दा मधेसलाई बोलाउनु ‘समावेशिता’ मात्र होइन—रणनीतिक आवश्यकता हो।

सीमा सम्बन्धबारे कुरा गर्दा मधेस। जनस्तरीय सम्बन्धबारे कुरा गर्दा मधेस। व्यापार र पारवहनबारे कुरा गर्दा मधेस। जलस्रोतको साझेदारीको कुरामा मधेस। नेपाल–भारत सामाजिक सम्बन्धबारे कुरा गर्दा मधेस। आप्रवासन, रोजगारी र सीमा–अर्थतन्त्रबारे कुरा गर्दा मधेस। नेपालको संघीयता, समावेशिता र राज्य पुनर्संरचनाबारे कुरा गर्दा मधेस—यी विषयमा मधेसको अनुभव सुनेर मात्र नेपाल–भारत सम्बन्धको पूर्ण तस्वीर तयार हुन्छ।

त्यसैले यो कुनै व्यक्तिविशेषको विरोध होइन

यो कार्यक्रमका कुनै पनि वक्ताको योग्यता वा व्यक्तित्वमाथि प्रश्न उठाउनु यसको उद्देश्य होइन।सवाल त कसलाई बोलाइयो भन्दा पनि कसलाई सोचियो भन्ने हो। किनभने वक्ता–सूची केवल नामहरूको सूची हुँदैन। त्यो आयोजकको प्राथमिकताको ऐना हुन्छ। त्यसमा को देखिन्छ, को छुट्छ र को अन्तिम क्षणमा थपिन्छ—यी सबैले आयोजकको दृष्टिकोणबारे केही न केही बताउँछन्। र यदि मधेसको उपस्थिति आलोचना भएपछि मात्र सम्झिइन्छ भने त्यसलाई सामान्य संयोग भनेर पन्छाउनु पर्याप्त हुँदैन।

यो चोट निम्तोको होइन,अस्तित्वको हो।

मधेसले अहिले सोधिरहेको प्रश्न सरल छ—हामीलाई किन बोलाइएन? तर यसको गहिरो संस्करण अझ कठोर छ—हामीलाई बोलाउने कुरा आयोजकको सोचमै किन आएन?

पहिलो प्रश्नको उत्तर एउटा निम्तोले दिन सकिन्छ। दोस्रो प्रश्नको उत्तर भने माइन्डसेट परिवर्तनले मात्र दिन सक्छ। त्यसैले अहिले मधेसले कुनै एउटा कार्यक्रमको मञ्चमा कुर्सी मागिरहेको छैन। मधेसले नीति निर्माणको टेबलमा आफ्नो समान नागरिक हैसियत खोजिरहेको छ। र यो माग कसैप्रति कृपा होइन। यो आजको संघीय नेपालको लोकतान्त्रिक चरित्रमाथि गरिएको स्वाभाविक प्रश्न हो।

भारत–नेपाल सम्बन्धबारे काठमाडौंमा हुने सबैभन्दा प्रतिष्ठित संवादमा मधेसलाई बिर्सनु एउटा कार्यक्रममा भएको चूक हुन सक्छ। तर यदि यस्ता चूकहरू बारम्बार दोहोरिन्छन् भने त्यो चूक रहँदैन। त्यो संरचना बन्छ। र संरचनाको पछाडि अन्ततः एउटा विचार हुन्छ। त्यही विचारलाई चुनौती दिनुपर्ने समय आएको छ।

मधेसलाई बोलाउने होइन—मधेसलाई नेपालको आवाजकै रूपमा सुन्ने संस्कार बसाल्नुपर्छ। किनभने, नेपालको बारेमा बोल्दा मधेसलाई छुटाएर बोलिएको ‘नेपाल’ पूर्ण नेपाल होइन। र भारतसँग नेपालको सम्बन्धबारे मधेसको अनुभव नसमेटिएको संवाद पूर्ण भारत–नेपाल संवाद पनि होइन।

यहीँबाट असली प्रश्न सुरु हुन्छ—‘A World of Questions’ भनिएको मञ्चमा एउटा प्रश्न आयोजकलाई पनि सोधौं—
नेपालभित्रको आधा आकाश देख्न नसक्ने आँखाले संसारलाई कसरी देख्छ?

(सप्तरी, सुन्दरी

Share Now