Prakash Adhikari September 6, 2026
काठमाडौँ, २१ भदौः यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको बाढीबाट सो क्षेत्रमा साढे ७ हजार घरधुरी प्रभावित भएका देखिएको छ । द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनअन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब ७ हजार ५ सय ७० घरधुरी प्रभावित भई करिब ३२ हजार ९ सय ३३ जना प्रभावित भएका सरकारले जनाएको छ ।
यसैगरी, ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटर चल्ने पुल तथा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको परराष्ट्र मन्त्रालयले आज भोटेकोशीसम्बन्धी अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै, करिब १ हजार ८ सय ६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना तथा दुई वटा प्रसारण लाइनमा पनि क्षति पुगेको छ । मूल्याङ्कनअनुसार ७ सय ८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ ।
यस विपद्बाट भएको क्षतिको व्यापकता र परिमाणलाई दृष्टिगत गर्दै क्षति तथा नोक्सानीको पूर्ण विवरण तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात् आवश्यकता मूल्याङ्कन पनि एकैसाथ सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी नदीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ तथा नदीको बहाव क्षेत्रसँग जोडिएका अन्य जिल्लामा ठूलो जनधनको क्षति, व्यापक विस्थापन तथा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । खोज र उद्धार कार्य आज एघारौँ दिन पनि जारी रहेको छ ।
हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ भने त्यसमा ३ सय भन्दाबढी विदेशी नागरिक रहेका छन् । शुक्रबार मात्रै धुन्चे र कोलोनीबाट क्रमशः एक जना चिनियाँ र एक जना अमेरिकी गरी दुई विदेशी नागरिकको उद्धार गरिएको सो विवरणमा उल्लेख छ ।
त्यस्तै, शुक्रबार अपर त्रिशूली–तीन ए सुरुङबाट दुई नेपाली नागरिक र अपर त्रिशूली–एक सुरुङबाट आज एक चिनियाँ नागरिक तथा बेत्रावतीस्थित एउटा घरबाट एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको छ । करिब पाँच हजार जना अझै बेपत्ता रहेका भने त्यसमा ३५ देशका करिब ६ सय  जना विदेशी नागरिक रहेका मन्त्रालयको विवरणमा उल्लेख छ ।
प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३ सय ४४ वटा शव बरामद गरिएका छन् । शुक्रबार त्रिशूली–तीन ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव बरामद गरिएको थियो । नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् । साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।
सुरुङ उद्धार नेपाली सुरक्षाकर्मीसँगै विदेशी विज्ञ
हाल भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी काम जारी राखेका छन् । छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर तथा अन्य सामग्री यी कार्यमा प्रयोग भइरहेका छन् ।
त्यस्तै, १५ सदस्यीय विपद् सहायता तथा प्रतिकार्य टोली अस्ट्रेलियाबाट शुक्रबार आइपुगेको छ भने ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली मलेसियाबाट आज बिहान आइपुगेको छ ।
प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी राख्न थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिँदैछ । यसअन्तर्गत अपर त्रिशूली–एक, अपर त्रिशूली–तीन ‘ए’, अपर त्रिशूली–तीन बी, यु–२१६ हाकु, चिलिमे र लाङ्टाङलगायत जलविद्युत् आयोजना रहेका छन् ।
सम्पर्क सञ्जाल पुनःस्थापनाका प्रयास
सम्बन्धित निकायले प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सम्पर्क पुनःस्थापना गर्न र प्रभावित नागरिकसम्म राहत सामग्री समयमै पुर्‍याउन सक्रिय रूपमा काम गरिरहेका छन् । अन्तरराष्ट्रिय समुदाय, साझेदार तथा व्यक्तिबाट प्राप्त थप सामग्री तथा सहयोगलाई प्रभावकारी रूपमा परिचालन गरिँदैछ ।
यसैगरी, नेपाली सेनाले इन्जिनियरको टोलीसँग मिलेर टाँडी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेको छ । साथै, त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा एक–एक गरी दुई वटा तुइन सञ्चालनमा ल्याइएको छ ।
नेपालले आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत तथा साधन परिचालन गरेको छ । तर, यस विपद्को व्यापकता र जटिलतालाई दृष्टिगत गर्दा निरन्तर अन्तरराष्ट्रिय ऐक्यबद्धता तथा सहयोग आवश्यक रहेको नेपालले स्वीकार गरेको छ ।
हालसम्म निकटतम छिमेकी, मित्रराष्ट्र, अन्तरराष्ट्रिय संस्था तथा परोपकारी व्यक्तिमध्ये भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अस्ट्रेलिया, जर्मनी, लाटिभया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बङ्गलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, चेक गणतन्त्र, तथा युरोपेली सङ्घ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ तथा यसका विशिष्टीकृत निकायले विभिन्न सहयोग गरेका छन् ।
यसैगरी, आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि बरामद भएका शवको अस्थायी दफन प्रक्रिया सुरु गरिएको छ । ताकि पछि तिनको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारलाई पार्थिव शरीर हस्तान्तरण गर्न सहज होस् ।
बेपत्ता व्यक्तिका निकटतम परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौँ वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न वा आफू बसेको देशमै आफ्नो डिएनए प्रोफाइल तयार गराइमा पठाउन अनुरोध गरिएको छ ।
भारत, चीन, सिङ्गापुर तथा दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायसँग मिलेर डिएनए सङ्कलन, विश्लेषण तथा मृतकहरूको पहिचानलाई तीव्र बनाउन सहभागी भएका छन् ।
यसका साथै हालसम्म मन्त्रालयले सम्बन्धित मुलुक तथा निकायका साथै नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय संस्थाबाट बाढी राहत सामग्री तथा उद्धार टोली लिएर आएका २४ वटा उडानको अनुमति तथा सहजीकरण गरेको छ ।
चीनतर्फ रहेका नेपाली नागरिक
मन्त्रालय तथा चीनस्थित नेपाली नियोगहरूले बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकको सुरक्षित स्वदेश फिर्तीका लागि चिनियाँ अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छन् । शुक्रबार तातोपानी नाकाबाट १५५ जना नेपाली नागरिक नेपाल फर्किएका छन् भने आज सोही नाकाबाट १२७ जना नेपाली नागरिक नेपाल फर्कने अपेक्षा गरिएको छ ।
Share Now