काठमाडौँ, ६ कात्तिकः बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।
“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । उनले सन् २०१७ मा बङ्लादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए ।
सैफउद्दिनले बङ्लादेशका लागि ३० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् । त्यस्तै, उनले ५१ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।
सन् २०१६ को आइसिसी यु–१९ विश्वकपमा बङ्लादेशका लागि प्रभावशाली प्रदर्शन गरेका सैफउद्दिनले प्रतियोगितामा १३ विकेट लिएका थिए । उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बङ्लादेशको प्रतिनिधित्व गरेका थिए ।
सैफउद्दिनले विभिन्न पाँच वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) खेलिसकेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हो । पोखराले सैफउद्दिनसहित बङ्लादेशकै शाकिबअल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो ।
‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए ।
उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् ।
उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् ।
समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन् ।
फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
—