
क्वेटा,बलोचिस्तान(पाकिस्तान),१७ भदौ(बीबीसी) । पाकिस्तानको न्यायिक इतिहासमा ताहिरा सफ्दर त्यहाँको उच्च अदालतको पहिलो महिला मुख्य न्यायाधीश बनेकी छन्।
उनले मुख्य न्यायाधीशको रूपमा बलोचिस्तान उच्च अदालतको नेतृत्व सम्हालेकी छन्।
पाकिस्तानको कानुनी समुदायले उच्च अदालतमा पहिलो महिला मुख्य न्यायाधीशको रूपमा ताहिरा सफ्दरको बढुवाको स्वागत गरेको छ।
यात्रा
पाकिस्तानमा उच्च तहमा पुरुष न्यायाधीश थुप्रै भएपनि थोरै महिला मात्र माथिल्लो तहमा छन्।
सफ्दरको बढुवा न्यायपालिकामा रहेको लैङ्गिक असमानता सम्बोधन गर्ने पहिलो कदम हुने अभियानकर्मीको विश्वास छ।
सन् १९५७ मा जन्मिएकी मुख्य न्यायाधीश सफ्दरको सन् १९८० बाट न्याय क्षेत्रमा यात्रा सुरू भएको हो।
क्वेटाका एकजना प्रख्यात कानुन व्यवासायीकी छोरी सफ्दरले पेशाका क्रममा लामो समय बलोचिस्तान प्रान्तमै बिताइन्।
उनी उच्च अदालतको पहिलो महिला न्यायाधीश पनि हुन्।
चर्चित मुद्दा
सन् २००९ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त उनी आगामी वर्षको अक्टोबर महिनासम्म मुख्य न्यायाधीश पदमा रहने छिन्।
पूर्व सैन्य शासक परवेज मुशर्रफविरूद्धको राजद्रोहको मुद्दासहित कैयौं उच्च तहका व्यक्ति मुछिएका चर्चित मुद्दा हेरेको इजलाशमा उनी पनि थिइन्।
अभियानकर्मीहरूले घरेलु हिंसा, प्रतिष्ठाको निम्ति गरिने हत्या र तेजाब आक्रमणजस्ता महिलाले बेहोर्दै आएका समस्या हेर्न पाकिस्तानमा थप महिला न्यायाधीशको खाँचो औंल्याएका छन्।
पाकिस्तान दक्षिण एसियाको एकमात्र यस्तो देश हो, जहाँको सर्वोच्च अदालतमा महिला अहिलेसम्म न्यायाधीश भएका छैनन्।