Prakash Adhikari March 23, 2026

वासिङ्टन, ९ चैत (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताउनुभएको छ।

आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उहाँले बताउनुभएको छ। वार्ता यो हप्ता जारी रहनेछ ।

ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्य पूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।”

उहाँले भन्नुभएको छ, “हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिवद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।”

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ । आइतबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्धसम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपायहरू अपनाइएको उल्लेख गरिएको छ ।
विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ । पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ ।
इरानले आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गर्दै आक्रमणकारीविरुद्ध कदम चालिएको जनाएको छ । यस क्रममा उसले अमेरिकी सैन्य अड्डा तथा संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिअनुसार, आक्रमणमा संलग्न वा समर्थन गर्ने देशका जहाजहरूलाई हर्मुज क्षेत्र पार गर्न रोक लगाइएको छ । तर अन्य देशका गैर–शत्रुतापूर्ण जहाजहरूले इरानी निकायसँग समन्वय गरी सुरक्षित रूपमा आवागमन गर्न सक्ने जनाइएको छ, यदि उनीहरूले इरानविरुद्धको गतिविधिमा सहभागिता जनाएका छैनन् ।

इरानले उक्त क्षेत्रमा दीगो शान्ति र स्थायित्व कायम गर्न बाह्य सैन्य आक्रमण अन्त्य हुनु आवश्यक रहेको जोड दिएको छ । साथै, अमेरिका र इजरायलका गतिविधि रोक्नुपर्ने र इरानका वैध हितहरूको सम्मान हुनुपर्ने बताइएको छ ।

यसअघि इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरानसहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायल र मध्यपूर्वस्थित अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरी प्रतिक्रिया दिएको थियो ।

Share Now